काठमाडौं महानगरले प्रत्येक वडामा एउटा नमुना उपभोक्ता सहकारी सञ्चालन गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’लाई सफल पार्न साना तथा मझौला व्यबसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति लिइने जनाएको छ ।

महानगरका प्रमुख विद्या सुन्दर शाक्यले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै यस्तै बताएका हुन् ।

उपभोक्ताको गुणस्तरीय तरकारी तथा खाद्यबस्तुको उपभोग गर्ने हक सुनिश्चित गर्न प्रत्येक वडामा कम्तिमा एक नमुना उपभोक्ता सहकारी स्थापना गरी सो मार्फत् थोक बजार सञ्चालन तथा प्रवद्र्धन गरिने उल्लेख छ ।

महानगरले विद्युतीय प्रणाली मार्फत सहकारी संस्थाको दर्ता, नियमन र प्रवद्र्धन गरिने कार्यलाई निरन्तरता दिइ थप प्रभावकारी बनाइनेछ ।

सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि एकीकरण गर्ने कार्यलाई निरन्तरता दिईने उल्लेख छ । महानगर सहकारी संघ (विशिष्टीकृत सहकारी संघ) को माध्यमबाट साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिनेछ ।

सहकारीहरुको नियमन तथा ब्यबस्थापनको लागि सहकारी कार्यमूलक योजना ल्याइने छ । अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको ब्यबस्था गरिने पनि उल्लेख छ ।

तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, क्याफे तथा रेष्टुरेण्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादक सहकारी संस्था प्रबद्र्धनमा जोड दिइने छ ।

महानगरभित्रका सहकारी संस्थाहरुबीच समन्वय एवं वचत र लगानीलाई प्रभावकारी बनाउन काठमाडौं महानगरस्तरीय विशिष्टीकृत संस्था स्थापना तथा सञ्चालन गर्न सहजीकरण गरिने उल्लेख छ ।


पुष्प दुलाल