कोरोना प्रभावित काठमाडौं महानगरबासीले करमा छुट पाउने, शहर कुरुप पार्ने होर्डिङ बोर्ड हटाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा कोरोना भाइरसका कारण प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने भएको छ ।

यस्तै कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने भएको छ ।

महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

महानगरको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाइने उल्लेख छ । महानगरका सम्पूर्ण करदाताहरुको तथ्याङ्क संकलन गरी अभिलेख अध्याबधिक गरिनेछ ।

शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति अवलम्बन गरिने र विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ लाई करदाताहरुको अभिलेखन वर्ष घोषणा गरि बैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक/स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गरिनेछ ।

आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक लेखापरीक्षण र कर परीक्षण कार्यलाई थप प्रभावकारी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, बहाल कर, ब्यवसाय कर र विज्ञापन करलाई एकीकृत रुपमा आबद्ध गरिनेछ ।

कर, दस्तुर, शुल्क तथा महसुल असूली कार्यमा तेश्रो पक्ष परिचालन गर्ने नीति लिईने उल्लेख छ । काठमाडौं महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवाना बैकिङ्ग तथा विद्युतीय प्रणालीबाट गर्न प्रोत्साहन गरिने मेयर शाक्यले बताए ।

महानगरको कर संकलन लगायत पूर्वाधार, वातावरण, सामाजिक सेवा सम्बन्धी विभिन्न कार्यका लागि तत्काल आवश्यक पर्ने जनशक्ति प्राप्त गर्ने नीति अवलम्बन गरिनेछ ।


पुष्प दुलाल