काठमाडौं महानगरले होटेल, रेष्टूराँ, सपिङ मल लगायत व्यवसायलाई विशेष सहुलियत दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसका कारण व्यापार व्यवसायमा देखिएको मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिने भएको छ ।

महानगरका प्रमुख विद्या सुन्दर शाक्यले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै यस्तो नीति लिने बताए ।

स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ ।

उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रबद्र्धन मेला आयोजना गरिने उल्लेख छ ।

अनलाइन वा घरैबाट व्यवसाय/उद्यम गर्न चाहने स्थानीयवासीलाई वित्तिय संस्थाहरुको सहकार्यमा व्यावसायिक कार्य योजना बनाउन तथा सहुलियत ऋणको लागि सहजीकरण गर्ने नीति लिइने उल्लेख छ ।

यस्तै ‘आर्थिक समृद्धिमा पर्यटन’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रबद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र बिस्तारमा जोड दिने नीति लिइने मेयर शाक्यले बताए ।

आन्तरिक तथा वाह्य पर्यटकसामु काठमाडौंलाई चिनाउन काठमाडौको सिटी ब्राण्डिङ्गको कार्य द्रुतगतिमा अघि बढाइने उल्लेख छ ।

हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गरिनेछ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल होटल संघ, रेष्टुरेण्ट तथा बार संघ तथा अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरिने मेयर शाक्यले बताए ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्न विशेष कार्यमूलक योजना बनाई कार्यान्वयन गरिनेछ । यसको शुरुआत ठमेल र बसन्तपूर क्षेत्रबाट हुनेछ ।

उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु जोड्नेगरी विद्युतीय ‘हप अन हप अफ’ बस सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


पुष्प दुलाल