बीमा समितिले अर्थमन्त्रीलाई भन्यो- बीमितलाई आयकरमा ५० हजार रुपैयाँ छुट दिनुपर्छ



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सरकारसँग आयकरमा ५० हजार रुपैयाँ छुटको व्यवस्था गर्ने माग गरको छ ।

समितिले बजेट निमार्णको क्रममा रहेको अर्थ मन्त्रालयलाई बीमितहरुलाई आयकरमा दिँदै आइरहेको २५ कजार रुपैयाँसम्मको आयकर छुटको दायरालाई ५० हजार पुर्याउन सुझाव दिएको हो । यस्तो छुट सुविधा दिने हो भने हाल २२ प्रतिशतमा रहेको बीमाको पहुँच वृद्धि भएर २७ प्रतिशत पुग्ने समितिको तर्क छ ।

यसरी उकास्न सकिन्छ कोरोनाले तहसनहस पारेको बीमा क्षेत्रः शिवनाथ पाण्डेको लेख

समितिले बीमा क्षेत्रको विस्तार गर्न नीतिगत सुधारदेखि आयकर छुटको सीमालाई बढाउन अर्थ मन्त्रालयमा सुझाव पठाएको जनाएको छ । जसमा न्यूनआय भएका व्यक्तिहरुलाई लघुबीमा कार्यक्रममा जोड्न सरकारले ७५ प्रतिशत शुल्कमा अनुदान दिनुपर्ने सुझाव दिएको छ ।

यसैगरी सरकारी स्वामित्वमा रहेको पुरातात्विक सम्पदा, भवन, अस्पताल आदीको समेत बीमा गर्नुपर्ने व्यवस्था हुनु पर्ने सुझाएको छ । जस कारणले विपद जोखिमबाट सरकारको सम्पतीमा हुन सक्ने क्षतिको आर्थिक संरक्षण भएस राज्यलाई आर्थिक भार व्यवस्थापन गर्न सहज हुने समितिको भनाइ छ ।

यस्तै, प्रत्येक नेपालीलाई बीमाको दायरामा ल्याउन प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने तथा कृषि तथा पशुपनछी बीमा मार्फत कृषि क्षेत्रको उत्पादनको सुनिश्चितता र स्वारोजगारी सिर्जन ागर्न आवश्यक रहेको समितिले सुझाव दिएको छ ।

समितिले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषि तथा पशुपन्छी बीमा ३५ प्रतिशतले वृद्धि गरी १८ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको बीमा लेख बिक्री गर्ने उदेश्य राखेको छ । हालसम्म ६५ हजार कृषि तथा पशुपन्छी बीमालेख जारी भएका छन् ।


पुष्प दुलाल