देउवाको प्रश्नः मेडिकल सामाग्री किन्दा भएको अनियमिततामा कारबाही गर्न किन ढिलाई ?



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोराना रोकथामका लागि मेडिकल सामग्री खरिद प्रकरणमा भएको अनियमिततामाथि तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् ।

यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै देउवाले फेरि बक्तव्य जारी गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पत्र: कात्रोमा पनि कमिशन ?

नेपाली कांग्रेस सबैखाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने तर आजको संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने देउवाले प्रष्ट पारेका छन् ।

यस्ता छन् देउवाले जारी गरेको विज्ञप्तीका बुँदाहरु

१, कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिबेला हामी सरकारको साथमा छौं । र, हरसंभव सघाइरहेका छौं । युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौं । तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौं ।

तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पु¥याउने कार्य गरेको छ ।

२, अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन । यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।

३, लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।

४, लक डाउनको प्रतिकूल अवस्थाका बावजुद संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका छन् । यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद छ ।

काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।


पुष्प दुलाल