प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पत्र: कात्रोमा पनि कमिशन ?

विश्वप्रकाश शर्मा, प्रवक्ता- नेपाली कांग्रेस २०७६ चैत २० गते १७:१० मा प्रकाशित

सम्माननिय प्रधानमन्त्रीज्यु,

सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै सिध्र स्वास्थलाभ कामना गर्दछु ।

विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसंग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं । र ,`सरकारमा संगै नरहेर पनि संगै लड्न सकिन्छ´ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल,संस्था र समुदायलाई अपील गरिरहेका छौं ।

प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको म प्रस्ट्याउन चाहन्छु । ढिलासुस्ती, लापरबाही,अनियमितता र भ्रष्टाचारलाईपनी समर्थन गर्नु चाहिँ होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर, तिनको निदान खोज्न घच्घच्याएर फेरिपनी सघाउनु संकटमुक्ती प्रतिको इमानदारीता हो l

हाम्रो आग्रह छ यो प्रकरणमा चिनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिउं । हामी थप चुक्यौं भने भीषण स्थिति ब्यहोर्नेछौं, सहि ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं । थोकमा मृत्यु हेर्ने  कि एकएकलाई जोगाउने ? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा  गम्भीर प्रश्न बन्न पुगेको छ ।

प्रधानमन्त्रीज्यु,

उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले यथासक्य प्रयत्न निस्चयनै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं तर यस्तो संकटको घडी हरेक कदमको समिक्षा हरेक दिन गर्न एवं बिज्ञ र आफू बाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छ ।

हाम्रो आग्रह छ लक डाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिस्ठ समिक्षा गरौं,कमजोरी अन्त्य गरौं र अब पछिल्लो कदम निकै ब्यवस्थित र प्रभावकारी ढंगले अघि बढाऔं । यो संक्षिप्त पत्रमा पृष्ठभुमि देखि समग्र विश्लेषणमा म जान चाहन्न l तत्कालीन परिस्थिति,प्रश्न र चुनौती बारे आम नेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।

समिक्षा १ परिक्षण र उपचारमा गम्भीर लापरबाही

१,    परिक्षण,परिक्षण र परिक्षणका लागि विश्व स्वास्थ संगठनले जोड दिएको छ l तर अझैपनी ७ प्रदेशको कम्तिमा ७ ठाउँमा परिक्षण गर्न सक्ने गरि क्षमता विस्तार गरिएको छैन l संक्रमण फैलनबाट रोक्न परिक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने बिषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापुर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ l

२,    हालसम्म पांच नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ भएर फर्किए भने चार उपचाररत छन् । तर उनीहरुको परिवारका सदस्यको परिक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतीक्षा गरेको छ । उनीहरुसंगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य  नागरिकको खोजविन शुरु गरियो तर परिक्षणको दायरामा ल्याइएको छैन l समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो बिषयको गम्भीरता पुगेको छ कि छैन ?

३,    यसविचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो,मृत्यु पश्चात् मात्रै परिक्षणको रिपोर्ट आयो । बुटवलको एक अस्पतालमा लास उठेन,बिराटनगरमा चार अस्पताल दौडाउंदा दौडाउंदै एक महिलाको मृत्युु भयो । कोरोना बाहेक अन्य रोगलेपनि मृत्यु हुन्छ ,तर सुरक्षीत रुपले परिक्षण गर्न पिपीई नपाउंदा कयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन् । प्रधानमन्त्रीकै जिल्लामा चार बर्षे बालकको ज्वरो जचाँउन जांदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी भएको छ ।

४,    यसविचमा विदेशबाट जति नेपाली आए,ती मध्ये थोरै मात्र क्वारेन्टाइनमा छन् । बांकी कहाँ छन् सरकारसंग तथ्यांकसम्म  छैन । क्वारेन्टाइन, परिक्षण र उपचारको ब्यवस्थित कार्ययोजना कठोरता पुर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउंदछु ।

समिक्षा २लज्जास्पद अभाव र अनियमितताको प्रश्न 

५,    कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वब्यापी भएको चार महिना पुगिसक्दापनि पीपिइ,परिक्षण कीट,भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियो । यो प्रकरणको चार गल्ती क्रमशः स्मरण गराउन चाहन्छु ।

क) समयमै सामग्री आयातको योजना ,तयारी र प्रक्रिया नथाल्नु ।

ख) लक डाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउंदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु ।

ग) बजार मूल्य भन्दा अत्यधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनु ।

घ) विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु ।

सम्माननिय प्रधानमन्त्रीज्यु, हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हरसंभव साथ दिन तत्पर रहेका छौं । सरकार ,प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रती नागरिकको असन्तोषलाई न्यून गर्ने अवसरपनि हो ।

तर नागरिक पंक्तिबाट जब `कात्रोमा पनि कमिसन ?´ भनेर प्रश्न आउँछ ,तब हामी नाजवाफ बन्छौं l प्रधानमन्त्रीज्यु समक्ष दुई विकल्प रहेकोे म सुझाउन चाहन्छु । एक,ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने, दुई सिंगो देशको आग्रह सुनेर निस्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई   सघाउने ।

समिक्षा ३ ,राहत अपर्याप्तप्याकेजमा उदार बनौं 

६,   सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं । प्रधानमन्त्रीज्यु हरेक बर्ष असार मसान्तमा हामीले फ्रीज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं ,यसपालि त्यो नछरौं । अहिले नागरिक जोगाऔं,पछि पुल हालौंला,बाटो बनाऔंला । ज्यालादारी श्रमिककोमा राहत पुर्‍याउने तिब्रतामा ध्यान पुगोस् । रोजगार कार्यक्रमका नाममा अघिल्लो बर्ष पानी बगायौं हामीले ,अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजना तर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ?

७,   तेहेर्‍याउन चाहन्छौं ब्यवसायीहरुको बैंक ब्याज घटाएर राहत अनुभुती गराउन सरकार किन गम्भीर नभएको ? प्रधानमन्त्रीज्युको निर्देशन सम्बन्धित मन्त्रालयलाई जाओस् ।

२० लाखसम्म ऋण लिएका साना ब्यवसायिको हकमा ३ महिनासम्मको ब्याज समेत मिनाहा गरियोस् । आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यु ।

८,    छापा माध्यम क्रमशः बन्द हुंदैछन् , ब्यवसाय चौपट भएपछि रेडियो ,टिभी र अनलाइनपनि बिज्ञापन न्युनता हुँदै शुन्यताको मारमा पर्नेछन् l श्रमजीवी पत्रकारको चुल्हो क्रमश लक्ड हुन सक्छ लक डाउन लम्बिए । राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्‍यो  ।

प्रधानमन्त्रीज्यु, अनि काठमाण्डौं प्रेस माथी प्रधानमन्त्रीकै निकटटस्थको साइबर अपराधलार्इ अनुसन्धान र कार्वाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु ।

समिक्षा ४: नेपाली डायस्पोरा बारे सोचौं

९,    नेपाल बाहिरपनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यु,चालिस लाखको संख्यामा फैलिएको । हिजो निरन्तर रेमिटेन्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन ।

क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट l परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्न । सोचौं,परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौं ।

ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यु उनीहरु हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए ,दशैंमा आउन कतिले सकेनन् ,कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् ।

अलिअघी सम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं ,आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई ब्यवस्थित रुपले प्रवेश गराउने दायित्व देशको हो । संकटमा परदेशीलाई त सेवा पुर्याउनु पर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनु भन्दा ठूलो अन्याय के हुन सक्दछ । अत्यन्तै कारुणिक यो यथार्थप्रती प्रधानमन्त्रीज्युको गम्भीर  ध्यानाकर्षण गराउंदछु ।

हामी फेरिपनी यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ । जय नेपाल !

विश्वप्रकाश शर्मा

प्रवक्ता, नेपाली कांग्रेस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स