अमेरिकाको लकडाउनः घरमा बस्नै नपर्ने, मदिरा पसल पनि अत्यावश्यक !



बाल्टिमोर । कोरोना भाइरसको कारण पछिल्लो महिनादेखि अमेरिका आक्रान्त छ । मंगलबारसम्म अमेरिकामा कोरोना पीडितको संख्या संसारका अरु सबै देशको भन्दा धेरै १ लाख ८५ हजार नाघेको छ भने ३ हजार ८ सयभन्दा धेरै व्यक्तिको ज्यान गइसकेको छ ।

आर्थिक राजधानी न्यूयोर्कमा मात्रै करिब ७६ हजार संक्रमित भेटिएका छन् भने यो एउटै राज्यमा करिब १ हजार ६ सय व्यक्तिको ज्यान गइसकेको छ । न्यूयोर्कमा औषतमा प्रत्येक १ लाखमध्ये करिब ४ सय व्यक्तिमा कोरोनाको संक्रमण देखिने गरेको तथ्य सार्वजनिक भएको छ ।

किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण

यता कोरोनाको संक्रमण फैलिन नदिनको लागि भन्दै यहाँका राजधानी वासिंटन डिसीसहित ३३ राज्यले ‘स्टे एट होम’ (घरमै बस्ने आदेशः नेपालमा लकडाउन जस्तै) जारी गरिसकेका छन् । यी ३३ राज्यमा बस्ने अमेरिकाको कुल ८० प्रतिशत जनसंख्यालाई अहिले घरमै वस्ने आदेश दिइएको छ भने राष्ट्रियरुपमै राष्ट्रपति डोनाल्ड ट्रम्पले १० जनाभन्दा धेरै व्यक्तिलाई भेला हुन रोक लगाएका छन् ।

यता अमेरिकन नागरिकहरुले भने त्यो आदेशलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेका छैनन् । यो घरमै बस्ने आदेशको पनि यहाँ प्रभावकारी कायन्व्यन नभएपछि न्यूयोर्क, मेरिल्याण्डलगायतका राज्यमा गभर्नर आजित भएका छन् । अमेरिकामा यस्ता लकडाउनमा दिइएका केही छुटहरु पनि रोचकका छन् जसले गर्दा यहाँ नागरिकलाई यस्ता आदेशको कुनै प्रभाव नै छैन ।

रक्सी पसल पनि अत्यावश्यक सेवामा !

नेपालमा बन्दको समयमा मदिराजन्य पदार्थ बेच्न दिइँदैन । अझ सरकारले यसलाई विलासी पेय पदार्थमा राखेर विदेशबाट आयातमा समेत कडाइ गर्ने निर्णय गरिसकेको छ ।

तर, अमेरिकामा भने धेरै राज्यले मदिरा पसल (लिक्वर स्टोर)लाई अत्यावश्यक सामाग्री बेच्ने पसलको सुचीमा राखेका छन् । जसको कारण अन्य खाद्यान्नको स्टोरहरुमा जस्तै यहाँका मदिरा पसलहरु पनि यस्ता बन्दमा खोल्न सकिन्छ । र, ग्राहकहरुको भिड पनि यस्तै पसलहरुमा लाग्ने गरेको छ । मेरिल्याण्डकै एक मदिरा पसलमा काम गर्ने ३ कर्मचारीमा कोरोना भाइरसको संक्रमण समेत भेटिएको थियो ।

गभर्नर कराउँदै, जनता पार्टी मनाउँदै

नेपालमाजस्तो कडा बन्द अमेरिकामा छैन । यहाँ जस्तै आदेश आएपनि जनतालाई त्यसलाई महत्व दिएका देखिँदैन । चाहे त्यो न्यूयोर्क होस् वा अन्य राज्यका हुन् । जनता घरबाहिर निस्कन छोडेका छैनन् ।

न्यूयोर्कमा केही कम भएपनि त्यहाँका गभर्नरले सोचेजस्तो नियन्त्रणमा ल्याउन सकेका छैनन् जसको कारण संक्रमितको संख्या दिनानुदिन उच्च भइरहेको छ ।

यता मेरिल्याण्डमा पनि सोमबार मेरिल्याण्ड राज्यका गभर्नर आक्रोसित हुँदै अनावश्यक भिडभाड नगर्न र गरेमा कडा कारबाही गर्ने चेतावनी दिए ।

मंगलबार मात्रै यहाँको एक स्थानीय चर्चमा ५० भन्दा बढीलाई भेला गराएर प्रवचन दिने पाष्टरलाई नियन्त्रणमा लिईएको छ भने केही दिन अगाडि यहाँका एक स्थानीयलाई ४० भन्दा बढी भेला गराएर पार्टी दिएको भन्दै नियन्त्रणमा लिईएको थियो । यहाँ स्टे एट होम अर्डर नमान्नेलाई ५ हजार डलर जरिवानादेखि १ वर्ष जेल सजायसम्म तोकिएको छ ।

हार्डवेयर पसलदेखि अटोसपसम्म खुल्लै

अमेरिकाले स्टे एट होम निर्देशनलाई लक डाउनकै संज्ञा दिएपछि वास्तविकता भने फरक छ । यहाँको हार्डवेयर पसलदेखि होटल रेष्टुराँहरु सबै खुल्ला छन् ।

सुपरमार्केटलाई अत्यावश्यक सेवामा राखिएको छ भने खानेकुरा घरसम्म पुर्याउने डेलिभरी ड्राइभरदेखि ग्रोसरी गर्नेसम्म सबैलाई छुट छ । निर्देशन पालना गराउन स्थानीय प्रहरीलाई आग्रह गरिए पनि हालसम्म न्यूर्योकमा एक मदिरा पसल सञ्चालक र मेरिल्याण्डका दुई बाहेक अन्यलाई निर्देशन पालना नगरेको नाममा कडा सजाय दिनेगरी नियन्त्रणमा लिइएको सार्वजनिक भएको छैन ।

स्कुल बन्द, विद्यार्थी पार्कमा

कारोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै यहाँको धेरै राज्यका स्कूलहरु बन्द छन् । झण्डै एक महिना अगाडिदेखि यहाँका स्कुल तथा क्याम्पसहरु बन्द छन् भने केही शिक्षण संस्थाहरुले अनलाईनको माध्ययमबाट कक्षा सञ्चालन गरिरहेका छन् । कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

कोरोना रोक्नको लागि यसो गरिएपनि यहाँका धेरैजसोले भने यसलाई सार्वजनिक छुट्टिको रुपमा मनाएको गुनासो सरकारी अधिकारीहरुको छ ।

मेरिल्याण्डका गभर्नर भन्छन् ‘हामी विपत व्यवस्थापनको लागि लागि परेको समयमा यहाँका स्थानीयले भने यसलाई पर्वको रुपमा लिएका छन् जसले संक्रमण हामीले सोचेको भन्दा जटिल बनिरहेको छ ।’

उनले अबको केही समयमै न्यूयोर्कको जस्तो हालत डिसी तथा भर्जिनिया क्षेत्रमा हुनसक्ने चेतावनी समेत दिए । यहाँका गभर्नरहरुले सार्वजनिक पार्क तथा खुल्ला क्षेत्रमा भिडभाड नगर्न बेलाबेलामा चेतावनी दिँदै आइरहेका छन् ।


पुष्प दुलाल