लकडाउन अझै कडा बनाउने सरकारको निर्णय



काठमाडौं ।  सरकारले लकडाउन केही स्थानमा फितलो भएको भन्दै कडा बनाउने निर्णय गरेको छ ।

मंगलबार पत्रकार ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विजय देवकोटाले केही ठाउँमा बाहिर निस्केको पनि भेटिएकाले लकडाउन कार्यान्वयमा अझै कडा हुने बताए ।

‘लकडाउन अझ बढी कर्यान्वयन गर्नुपर्नेछ, म पनि भर्खरै बैठकबाट आउँदै छु,  हामी अझ कडा रुपमा जान्छौं र यसको पूर्णकार्यान्वयन गर्छौ,’ उनले भने ।

यी २० अस्पतालमा हुन्छ कोरोनाको उपचार (सूचीसहित)

यसअघि राैतहटमा लकडाउन पूर्णरूपमा कार्यान्वयन नभएपछि जिल्लाले कडा बनाउने भनेको थियो । यद्यपी अझै पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

देवकोटाले सरकारले अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ३ तरिकाले काम गरिरहेको बताए ।

१) क्वारेन्टाइनको कार्यान्वयन

क्वारेन्टाइन अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्छ । जसमा स्थानीय निकायकाबाट अहिलेसम्म ४० हजारभन्दा बढीको विवरण संकलन भइसकेको छ भने सुरक्षाकर्मीले पनि बढी निगरानी बढाउनु पर्छ । अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्छ । यो रोग बिरामीमा मात्रै सीमित होस भन्ने हो ।

२) नमूना परीक्षणको दायारा बढाउने 

अब नमूना परीक्षणको दायरा बढाउन हो । बाहिरबाट आएका व्यक्तिहरुमा लक्षण देखिएको छ भने नमूना परीक्षणको दायरा बढाउने हो ।

३) अस्पतालको तयारी

अस्पतालको तयारीलाई पनि बढाउनु पर्नेछ । जसमा फिबर क्लिनिक र आईसीयू, अक्सिजनसँगै जनशक्ति र पूर्वाधारको व्यवस्थान गरेका छौं । र, सोही अनुसार कार्यान्वयन गर्ने कुरामा ध्यान दिनुपर्छ ।

साथै उनले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना भएको उल्लेख गर्दै यसले सहजिकरण समिति समेत बनाइएको बताए । यो समितिले सरकारले गरेको सम्पूर्ण निर्णय कार्यान्वय गर्ने बताए ।


क्लिकमान्डु