बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई बम्पर प्याकेेेज दिएको  छ । अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ । राष्ट्र बैंकले आजै (आइतबार नै) सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘कोरोनाले गरेको असरका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि यस्तो व्यवस्था गर्नु परेको राष्ट बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने

चैत मसान्तभित्र असूल गर्नुपर्ने मासिक र त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्ड समेत) भुक्तानी २०७७ असार सान्तसम्ममा हुने व्यवस्था मिलाउनुपर्ने छ । सो किस्ताको हकमा कुनैपनि किसिमको थप शुल्क वा हर्जना लिन नपाइने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ । किस्ता असूल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गिकरण नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने

‘यस बैंकबाट स्वीकृतिप्राप्त २०७६ पुस वा चैत मसान्तसम्मका लागि व्याज पुँजीकरण गरिएका ऋणीहरुको हकमा ०७७ असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने छ,’ राष्ट्र बैंकद्धारा आइतबार जारी परिपत्रमा उल्लेख छ ।

त्यसैगरी राष्ट बैंकले चैत मसान्तसम्ममा नवीकरण नभएको कर्जालाई शुक्ष्मी निगरानीमा राख्न नपाइने व्यवस्था गरेको छ ।

त्यस्तै, चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने परिपत्रमा उल्लेख छ ।

 

सर्कुलर


पुष्प दुलाल