लगानीकर्ता भन्छन्- नेपाललाई इटाली बनाउन चाहनेहरु सेयर बजार खाेल्न हतारिए



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले बुधबार लकडाउनको समयमा नै सेयर बजार खोल्ने निर्णय गर्यो ।

त्यसलगत्तै क्लिकमाण्डूसँग कुरा गर्दै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आगामी मंगलबारदेखि सेयर कारोबार सुचारु गर्ने जानकारी दिए ।

यो समाचारले लगानीकर्ताहरुलाई दुःखी भन्दै आलोचना शुरु भएको छ ।

मंगलबारबाट बजार खुला हुनु भनेको नेपाललाई पनि इटली बनाउन खोज्नेहरु यतिबेला बजार खोल्नतर्फ उद्त भएको लगानीकर्ताको आरोप छ ।

मंगलबारदेखि सेयर कारोबार खुल्ने

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अहिलेको अवस्थामा बजार खोल्नु भनेको नेपाललाई पनि इटली बनाउन खोजेको बताउँछिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता देशबासीको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने घोषणा गरेका थिए ।

कोरोना भाइरसका कारण अहिले देश लकडाउन छ । यो बेला बजार खुला हुँदा लगानीकर्ताले सेयर कारोबार गर्न नसक्ने पोखरेल बताउँछिन् ।

लगानीकर्ता घरबाट बाहिर निस्कने सम्भावना नरहेको र अहिले लगानीकर्ता सेयर कारोबार गर्न बाहिर निस्केको खण्डमा देश इटलीको स्थितिमा पुग्ने उनको भनाइ छ ।

‘यो अवस्थामा बजार खुलेको खण्डमा नेपाल इटाली भन्दा के कम होला र ? हामीले भारत लगायतका देशको कारोबार हेरेर हुँदैन, ती देशमा अनलाइनबाट कारोबार गर्न सक्ने सहजै व्यवस्था छ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘नेपालमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता २० हजारको हाराहारीमा रहेका छन् । यो अवस्थामा सेयर बजार खुला गर्नु हुँदैन ।’

अहिलेको अवस्थामा लगानीकर्ता घरमा बसेर कारोबार गर्न नसक्ने र कारोबारको लागि बजारमा कसरी जाने भन्ने प्रश्न पेचिलो बनेको उनको तर्क छ ।

उनी थप्छिन् ‘यो बेलामा पनि बजार खोल्नको लागि लगानीकर्तालाई बाहिर निस्कन दिनुपर्छ, त्यो अहिलेको अवस्थामा कुनै हालतमा सम्भव छैन ।’

यो बेलामा पनि बजार खोल्न भनेर अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार खोल्नु भनेको सेयर बजारप्रति कत्तिको जिम्मेवार छन् भन्ने लगानीकर्ताले थाहा पाउने उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने भनेपछि आइतबार नेप्सेका सीइओ चन्द्रसिंह साउदले बजार खुलाएका थिए ।

बोर्डले सोमबारदेखि आगामी सोमबारसम्मको लागि बन्द गरेको बजार पुन मंगलबारदेखि सञ्चालनमा आउने चर्चा चलेको छ ।

उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले कोरोना संक्रमणबाट सजग रहँदै बैंकिङ, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै बजार खुल्ने चर्चा र त्यसको विरोध सुरु भएको हो ।

सेयर लगानिकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले अहिलेको अवस्थामा कुनै हालतमा बजार खोल्नु नहुने बताए । यो अवस्थामा लगानीकर्ता ब्रोकर कार्यालयसम्म पुग्ने सम्भावना नरहेको उनको भनाइ छ ।

लगानीकर्ता ब्रोकर कार्यालयमा जान नसक्ने भएपछि बजार खोल्नु र नखोल्नुमा कुनै फरक नहुने उनले बताए ।

कोरोनाको स्थिति नियन्त्रणमा नआएसम्म बन्द गर्न उनको आग्रह छ । अर्थमन्त्रालयको पछिल्लो निर्णयपनि बजार खुल्ने खालकै रहेको उनको बुझाइ छ ।

उनले अहिलेको अवस्थामा बजार खुलाउने हो भने १० बजे देखि ५ बजे ब्रोकर अफिसको प्रोजेक्टर खोलेर कारोबार गर्नु पर्ने भन्दै व्यङ्गे समेत गरे ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुलेलले मंगलबारदेखि बजार खुल्ने निर्णय लगानीकर्तालाई स्वीकार्य नहुने बताए । सिंगो देशलक डाउनमा रहेको र विश्व आतंकित भएको समयमा जनता सेयर कारोबार गर्न भन्दा आफ्नो ज्यान बचाउनतर्फ आतुर रहेको बताए ।

अहिले सेयर बजारमा नियामक निकाय नै हात धोएर नै बजार क्र्यास गराउन लागिपरेको अाभास भएकाे उनले बताए । अहिले झण्डै १.५ प्रतिशत अनलाइन प्रयोगकर्ता र ९८.५ प्रतिशत लगानीकर्ताहरूलाई ब्रोकरबाट नै कारोबार गर्ने गरेको बेला बजार खोल्दा ९८.५ प्रतिशत लगानीकर्ता लगानीगर्नबाट बन्चित हुने उनको बुझाइ छ । आगामी मंगलबारबाट बजार खोल्ने निर्णयले लगानइकर्तामा वितृष्णा पैदा भएको उनको भनाइ छ ।

ब्रोकर एसोसिएशन र मर्चेंट बैंकर एसोसिएशन समेतले यो दर्दनाक अवस्थामा कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दै लकडाउनको समयमा व्यवसाय बन्द गरेको स्मरण गराएका छन् ।

उनले यो बेला सेयर बजार खुलाएर बजारलाई तहसनहस पार्नु भनेको कदापि स्वीकार्य नहुने र बजार खुलेमो आगामी दिनमा लगानीकर्ताले निर्धक्क भएर सेयर कारोबार गर्न सक्ने सम्भावना नरहने उनको तर्क छ ।

स्रोतका अनुसार सरकरले लकडाउनको अवधि थपेको खण्डमा सेयर बजार पनि बन्द हुने भएको छ । अर्थमन्त्री डा. खतिवडाले पनि केही लगानीकर्ताहरुलाई लकडाउनको अवधिमा सेयर कारोबार नखुल्ने र लकडाउन हटेको दिनबाट मात्रै सेयर कारोबार हुने जानकारी गराउँदै आएका छन् ।


पुष्प दुलाल