सुशासनको नारा लगाउने प्रधानमन्त्री कार्कीले जाँदाजाँदै स्वकीय सचिवलाई दिइन् नियुक्ति


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गरेको सरकारले सरकारको छवि धुमिल बनाउने विवादित पात्रलाई नियुक्ति दिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आफ्नै पीए आदर्शकुमार श्रेष्ठलाई  राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गरेको हो ।

श्रेष्ठ उनै हुनु जसले स्वच्छ छविकी प्रधानमन्त्री कार्कीलाई विवादित बनाएका थिए । आफ्नै श्रीमतीलाई नियुक्ति गर्नेदेखि नियुक्तिहरुमा अनावश्यक चासो राख्ने कार्यमा श्रेष्ठ संलग्न भएको आरोप लाग्दै आएको थियो ।

मन्त्रिपरिषको सम्भवतः अन्तिम बैठकमार्फत् कार्कीले यस्ता व्यक्तिलाई नयाँ ठाउँमा नियुक्ति गर्दा सुशासनको धज्जी उडेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा ‘विवादित पात्रलाई नियुक्ति दिइयो, त्यो पनि आफ्नै स्वकीय सचिवलाई’ भन्दै आलोचना भइरहेको छ ।

प्रधानमन्त्री कोषका संरक्षक पनि हुन् । कार्कीले मन्त्रिपरिषद बैठकमार्फत् कोषको अध्यक्ष पदमा आफ्नै स्वकीय सचिव श्रेष्ठलाई ५ वर्षका लागि मनोनयन गरेको हो । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि सो पद रिक्त थियो ।

प्रधानमन्त्री बन्नु अघि र बने पछि पनि पुरा कार्यकालमा सुशासनको विषयमा कडा देखिएकी कार्कीले अन्त्यमा विवादास्पद निर्णय गरेकी हुन्र । सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए । प्रधानमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणपछि पदबहाली गरेलगत्तै श्रेष्ठलाई स्वकीय सचिव बनाएकी थिइन् । श्रेष्ठले प्रधानमन्त्रीको स्वकीय सचिव नियुक्त भएपछि आफ्नी श्रीमती संगीतालाई पनि असोज २ गते सहसचिव स्तरको नियुक्ति दिएका थिए ।

उनले श्रीमतीसहित अरू नातेदारलाई पनि सचिवालयमा राखेको आरोप छ ।

प्रधानमन्त्री कार्कीसँग आदर्शको पहिलेदेखि निकट चिनजान रहेको र व्यक्तिगत हेरचाहको काम पनि उनले नै गर्दै आएका थिए । प्रधानमन्त्री कार्की र उनका श्रीमान दुर्गा सुवेदीको व्यक्तिगत हेरचाह आदर्शले गर्दै आएका थिए ।

प्रधानमन्त्री निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घन्टा सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारण पनि विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्ति भएकाले आदर्शलाई नियुक्त गरिएको थियो ।

भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको अन्तरिम सरकार गठन भएको हो । यो आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य थियो । आन्दोलनकै क्रममा नातावाद र कृपावादविरूद्ध ‘नेपो बेबी’ ट्रेन्ड समेत चलेको थियो । तर आन्दोलनपछि नियुक्त सरकार–प्रमुखका स्वकीय सचिवले नै आफ्नी श्रीमतीलाई जागिर खुवाएको भन्दै विरोध भएको थियो ।

उनले सरकारले गर्ने कतिपय नियुक्तिमा अनावश्यक चासो राख्दै आएको बताइन्छ । रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले त आदर्शलाई बर्खास्त गर्न सरकारसँग माग गरेको थियो ।

खासगरी राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरूपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहिता र पारदर्शिताविरूद्धको प्रत्यक्ष प्रहार भएको जेनजी फ्रन्टको भनाइ थियो ।