मंगलबारदेखि सेयर कारोबार खुल्ने



काठमाडौं । मंगलबारदेखि सेयर कारोबार खुल्ने भएको छ । सोमबारदेखि ५ कार्यदिनका लागि बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले क्लिकमाण्डूलाई जानकारी दिए ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले सेयर कारोबार खुलाउने निर्णय गरेको थियो ।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमणबाट सजग रहन र सतर्कता अपनाइ बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने । साथै कुन-कुन सेवा कुन क्षेत्रबाट दिने हो सोको सञ्चारमाध्ष्यमबाट सेवागथ्राहीलाई जानकारी गराउने,’ निर्णयमा भनिएको छ ।

सरकारले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्न निर्देशन दिएसँगै गत सोमबारदेखि धितोपत्र बोर्डले ५ कारोबार दिन सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो ।

भारतमा पनि लकडाउनमा सेयर कारोबार भइरहेको छ ।

बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ९ वटा निर्णय गरेको छ । बैठकले चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्नेलगायतका निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि सरकारले यस्तो सहुलियत दिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अबलम्बन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्नुपर्नेछ ।


क्लिकमान्डु