सेयर कारोबार बन्द गर्ने वा नगर्ने ? धितोपत्र बोर्डसँग छलफल गर्दै अर्थमन्त्री खतिवडा
काठमाडौंं । कोरोना भाइरसको संत्रास बढेसँगै सेयर बजार खुल्ला गर्ने वा बन्द गर्ने भन्ने विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्डसँग छलफल गर्ने भएका छन् ।
सेयर लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीहरुले बजार चैत मसान्तसम्मको लागि बन्द गर्नुपर्छ भन्ने सुझाब दिइसकेका छन् ।
यता नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द गर्न नहुने र अनलाइनबाट भएपनि कारोबार गर्नुपर्ने पक्षमा छ ।
सेयर ब्रोकरकहाँ एकैपटक ५ जनाभन्दा बढी लगानीकर्ता बस्न नपाउने
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बजार बन्द नै गर्नु परेको खण्डमा आफूले बढीमा एक साताको लागि मात्रै बन्द गर्न सक्ने र त्यो भन्दा बढी समय बजार बन्द गर्नुपरेमा अर्थ मन्त्रालयको अनुमति चाहिने बताउँछन् ।
बोर्डले एक साता भन्दा बढी आफूले बजार बन्द गर्न नमिल्ने र त्यो भन्दा बढी बन्द गर्नु परेमा मन्त्रालयको अुनमति चाहिने भनेपनि शुक्रबार नेपाल पुँजी बजार लगानीकर्ता संघले मन्त्री खतिवडालाई भेटेको छ ।
भेटमा बजारलाई बन्द गर्ने वा नगर्ने भन्ने विषयमा बोर्डसँग कुरा गर्ने जानकारी गराएको संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।
पोखरेलले क्लिकमाण्डूसँग भनिन् ‘मन्त्रीज्यूले कारोबार रोक्ने विषयमा धितोपत्र बोर्डलाई बोलाएर छलफल गर्छु भन्नु भएको छ । सायद बोर्डसँग मन्त्रीज्यूले छलफल गरेपछि बजार बन्द हुने वा नहुने विषयमा निर्णय आउने छ ।’
अहिले अनलाइनबाट कारोबार गर्ने चर्चा भएपनि झण्डै २२ हजार लगानीकर्ताले मात्रै अनलाइन लिएको र बाँकी अरु लगानीकर्ताहरुले कारोबार गर्न नपाउने भएकोले कारोकार रोक्न आवश्यक रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।
मन्त्री खतिवडाले बोर्डसँग छलफल गरेर आइतबारबाट कारोबार हुने वा नहुने भन्नेमा टुंगो लाग्नेमा आफु विश्वस्त रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।
सरकारले नै २५ जना भन्दा बढी व्यक्ति समूहमा नबस्नु भनेर निर्देशन दिएसँगै केही समयको लागि बजार बन्द गर्न माग भइरहेको छ । धितोपत्र बोर्डले ब्रोकर कार्यालयमा कर्मचारी बाहेक ५ जनाभन्दा बढी ग्राहक भेला नहुन निर्देशन दिइसकेको छ ।