सेयर ब्रोकरकहाँ एकैपटक ५ जनाभन्दा बढी लगानीकर्ता बस्न नपाउने



काठमाडौं । सेयर ब्रोकरकहाँ एकैपटक ५ जनाभन्दा बढी लगानीकर्ता बस्न नपाउने भएका छन् । नियामक धितोपत्र बोर्डले बिहीबार बक्तव्य जारी गर्दै कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि सेबोनले यस्तो व्यवस्था गरेको हो ।

त्यसैगरी, ब्रोकर कार्यालयमा सेयर कारोबारको लाइभ देखाउने स्क्रिन एक्जिबिशन ररुम बन्द गर्न सेबोनले निर्देशन दिएको छ ।
ब्रोकर कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन र हेल्थ स्क्रिनिङको व्यवस्था गर्नुपर्ने छ ।

त्यसैगरी, कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्नुपर्ने र  नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६/१२/०५ को सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

सेबोनले बिहीबार सरोकारवालाहरुलाई बोलाएर यस विषयमा छलफल गरेको थियो । बोर्डमा धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त ५ लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरुबीच कोरोनाका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल गरेको थियो ।

छलफलमा सरोकारवालाहरुले सेयर कारोबार बन्द गर्न सुझाएका थिए । बोर्डले भने माथिल्लो निकायसँग सोधेर मात्रै बन्द गर्ने वा नगर्ने निर्णय गर्ने अध्यक्ष भिष्म ढुंगानाले जानकारी दिए ।


पुष्प दुलाल