बिल नतिर्ने उद्योगको लाइन काट्ने कुलमानको निर्णयमा उर्जा मन्त्रालयको ब्रेक, भन्यो- बिजुली दिनु



काठमाडौं । बुधबार नेपाल विद्युत् प्राधिकरणले २ वटा उद्योगको बक्यौता नबुझाएको भन्दै विजुली काट्ने निर्णय कार्यान्वयन गर्यो ।

बिराटनगरको रघुपति जुट मिल र सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङको विजुलीको लाइन प्राधिकरणले काटिदियो ।

प्राधिकरणका अनुसार रघुपति जुट मिलले १५ करोड रुपैयाँ र रिलायन्सले डेढ अर्ब रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।

दुई दर्जन उद्योग र प्राधिकरणबीच डेडिकेटेट र ट्रंकलाइनको विजुलीको बक्यौताको विषयमा विवाद छ । प्राधिरणले पठाएको महशुल तिर्न नसक्ने उद्योगीहरु बताउँछन् ।

प्राधिकरणले भने उद्योगीहरुले लोडसेडिङको बेला लिएको डेडिकेटेट र ट्रंकलाइनको महशुल नबुझाएको दाबी गर्छ । यो विवाद सार्वजनिक लेखा समितिसम्म पुगेको छ ।

लेखासमितिले बक्यौता रकम उठाउन र निर्णय प्रक्रियामा संलग्न प्राधिकरणका उच्च कर्मचारी तथा संचालकलाई मुद्दा चलाउन अख्तियारलाई पत्राचार गरेको छ ।

बुधबार दुईवटा उद्योगमा विजुलीको लाइन काटिएपछि योसँग सरोकार राख्ने उद्योगीहरुको बैठक बस्यो । उद्योगीहरुले ऊर्जामन्त्रालय, अर्थ तथा उद्योग वाणिज्य आपूर्तिमन्त्रीसँग कुरा गरे ।

बुधबार बेलुका ऊर्जा मन्त्रालयले प्राधिकरणलाई बिहीबार नै काटिएको लाइन जडान गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको कारण अर्थतन्त्र समस्यामा परेको हुँदा अहिलेलाई बिजुलीको लाइन जडान गर्न दिन निर्देशन मन्त्रालयले प्राधिकरणलाई दिएको हो ।

सरकारले समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरेपनि त्यसको बैठक नै बस्न सकेको छैन ।


क्लिकमान्डु