कच्चा तेलको मूल्य ३० प्रतिशतले घट्यो, नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने



काठमाडौं । साउदी अरब र रुसबीच उत्पन्न तनावको कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ ।

अन्तराष्ट्रिय बजारमा ३० प्रतिशतले कच्चा तेलको मूल्य प्रतिब्यारेल ३१.०२ अमेरिकी डलर प्रति ब्यारेलमा आएको छ । यो सन् २०१६ फ्रेबुअरी यताकै न्यून मूल्य हो । तेलको मूल्य एकैपटक यसरी घटेको सन् १९९१ को गल्फ वारपछि कै अहिले हो ।

साउदी अरबले रुससँग उत्पादन घटाउने प्रस्ताव गरेको छ । तेल उत्पादक देशहरुको संगठन ओपेकको सदस्य भने रुस छैन ।

ओपेकमा साउदीले भनेको चल्ने गरेको छ । साउदीले राखेको प्रस्ताव रुसले नमानेपछि साउदी अरबले कच्चा तेल खरिदमा छुट दिने घोषणा गरेको थियो । छुटसँगै साउदीले कच्चा तेलको उत्पादन समेत बढाउने निर्णय गरेको थियो । ओपेक देश र रुसबीचको तेलको युद्दले यसको मूल्य अझै घट्ने अनुमान अन्तराष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् ।

नेपालले प्रमुख रुपमा आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थ पर्छ । नेपालले भारतीय आयल निगमसँग खरिद गरेर पेट्रोलियम पदार्थको आयात गर्ने छ । जसको मूल्य हरेक १५ दिनमा परिवर्तन हुन्छ । यस आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमान गर्न सकिन्छ । सरकारले भने पेट्रोलियम पदार्थमा अत्याधिक कर लगाउने गरेको छ । चालु आर्थिक वर्षमा नै लक्ष्य अनुसार कर नउठेपछि १ लिटरमा ५ रुपैयाँको दरले लगाउदै आएको पूर्वाधार करलाई १० रुपैयाँ आर्थिक वर्षको बिचमा पुर्याइएको थियो ।


क्लिकमान्डु