साल्ट ट्रेडिङ र बंगलादेशको ट्रेडिङ कर्पोरेशनबीच सहकार्य हुने
काठमाडौं । नेपाल र बंगलादेशबीचका सरकारी कम्पनीबीच एकआपसमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालका अनुसार नेपालको साल्ट ट्रेडिङ कर्पोरेशन र बंगलादेशको ट्रेडिङ कर्पोरेशन अफ बंगलादेशबीच खाद्य पदार्थ तथा नून तथा अन्य उपभोग्य वस्तुको एक आपसमा सहकार्य गर्ने विषय उक्त समझदारीमा समेटिएको छ ।
नेपालका विशेष गरी नून, खाद्यान्न तथा खाना पकाउने ग्यासको बिक्री गर्दै आएको साल्ट ट्रेडिङले अन्य उपभोग्य वस्तुको समेत व्यापार व्यवसाय गर्ने योजना अगाडि सारेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा समेत सुचीकृत उक्त कम्पनी र बंगलादेशको सोही प्रकृतिको कम्पनीसँगको सहकार्यले व्यापार व्यवसाय वृद्धि तथा सहज आयात र निर्यातका लागि समेत मार्ग प्रशस्त गरेको छ ।
नेपाल र बंगलादेशका वाणिज्य सचिव स्तरीय बैठक यही फागुन २० र २१ गते बंगलादेशको राजधानी ढाकामा आयोजना गरिएको थियो ।
सो बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव डा. अर्यालको नेतृत्वको टोली सहभागी थियो । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेश र नेपालका विभिन्न सरकारी निकायबीच सहकार्य गर्ने विषयमा निर्णय गरेको थियो ।
यस्तै खाद्य सामग्रीको गुणस्तर तथा अन्य विषयमा समेत समान धारणा तयार पार्ने गरी नेपालको खाद्य तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सोही प्रकृतिको निकायसँग पनि सहकार्य गर्ने सहमति भएको छ ।
यसैगरी नेपाल र बंगलादेशबीच आयात तथा निर्यात गर्ने विषयको सूची तयार गरिने भएको छ । सो सूचीमा रहेका सामानको सहज निर्यातका लागि समेत समझदारीले काम गर्नेछ ।