गाउँ-गाउँमा सहकारी खोज्दै स्थानीय सरकार



धुलिखेल । स्थानीय सरकारहरुले अहिले गाउँ-गाउँमा सहकारी संस्था खोज्न थालेका छन् ।

सहकारी पत्रकार समाजले आयोजना गरेको स्थानीय सहकारी विषयक छलफल कार्यक्रममा स्थानिय तहका कर्मचारीले गाउँ-गाउँमा सहकारी सस्था खोज्ने कार्य शरु भएको बताए ।

कार्यक्रममा नमोबुद्द नगरपालिकाका अधिकृत विमल कोईरालाले १०४ वटा सहकारी दर्ता भएको र सबै सन्चालनमा नआएको बताए ।

‘यो पालिकामा दर्ता भएका आधा सहकारी पनि सन्चालनमा आएका छैनन्, ती सहकारीको खोजि कार्य जारी छ, हामी ती सहकारी कहाँ कहाँ छन भनेर गाउँ गाउँमा खोज्दै छौं,’ उनले भने ।

कार्यक्रममा उनले नगरपालिकामा एउटा सहकारी मर्ज भएको र अन्य सहकारीमा मर्ज आवश्यक रहेको बताए ।

कोइरालाले जिल्लाका सहकारीमा दोहोरो सदस्यताको समस्या रहेको बताए । ऐनले यस्तो हुन नहुने भनेपनि अहिलेसम्म नरोकिएको बताए । दोहोरो सदस्यता रोक्नको लागि केन्द्रले नै निर्देशन दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वर प्रसाद अधिकारीले जिल्लाका कृषि सहकारी कसरी चलेका छन् भनेर अझै पनि थाहा पाउन नसकेको बताए । उनले सहकारी सस्था दर्ता भएयता कुनैपनि विवरण पेश नभएको बताए ।

दर्ता भएका १३७ सहकारीमा १५ वटा मात्रै सुचिकरण हुन आएको बताए । अधिकारीले सहकारीलाई सुचिकरणमा आउन पटक पटक आग्रह गर्दा पनि सुचिकरण हुन नआएको गुनासो गरे ।

आफ्नो पालिकामा एउटा सहकारी मर्ज भएपनि वैज्ञानिक कृषि सहकारी भने विघटको लागि निवेदन दिएको जानकारी गराए । उनले आफ्नो पालिकामा सहकारीको अनुगमनमा आर्थिक अभावको समस्या रहेको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका सचिव दिलिप शर्माले जिल्लाका केही सहकारिमा सामान्य समस्या रहेको बताए । उनका अनुसार पछिल्लोसमयमा शम्पति शुद्दिकरण विभागबाट सहकारी विभाग मार्फत सम्पति शुद्धीकरणको लागि पत्र आउने गरेको जानकारी गराए ।

शर्माका अनुसार स्थानीय तहमा सहकारी दर्ता गर्दा ६ देखि १० हजारसम्म लाग्ने गरेको बताए । यसलाई घटाउन आवश्यक रहेको बताए । शर्माका अनुसार स्थानिय जनप्रतिनिधिलाई ऐ नियमको जानकारी नहुँदा समस्या भएको बताए ।


पुष्प दुलाल