आफ्नै ज्वाँइले अनियमितता गरेको प्रश्न सोध्ने पत्रकारलाई अर्थमन्त्री खतिवडाले भने- बिचार पुर्याएर बोल्नूस्



काठमाडौं । बिहीबार सरकारले मन्त्रीपरिषद्का बैठकको निर्णय सुनाउन सरकारका प्रवक्ताले आयोजना गर्ने पत्रकार सम्मेलनको दिन ।

मंगलबार राजीनामा दिएर बुधबार पुनः मन्त्री बनेका डा युवराज खतिवडाले अर्थ र संचार मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी सरकारका प्रवक्ता हुन् ।

बिहीबार मन्त्रीपरिषद्को निर्णय सरकारका प्रवक्ता खतिवडाले सुनाएपछि संचारकर्मीहरुले विभिन्न खाले प्रश्न राखे । जसमा संचारकर्मी अशोक अधिकारीले खतिवडाका छोरीज्वाँईं रामशरण खरेल राष्ट्र बैंकको बिराटनगर कार्यालयमा कार्यरत रहँदा भएको झुत्रा नोट जलाउँदाको अनियमिताको बारेमा प्रश्न गरे ।

उनले अर्थमन्त्री खतिवडालाई तपाईको ज्वाँइ भएको आधारमा नै कारवाही नगरेर उल्टै पुरस्कृत गरेको हो ? भन्ने प्रश्न राखेका थिए ।

बिराटनगरमा राष्ट्र बैंकमा झुत्रा नोट जलाउनु पर्नेमा केही नोट नजलाएको विवाद छ । यद्यपी यसको पुष्टी भने भएको छैन । संचारकर्मी अधिकारीले नै सो समाचार आफु कार्यरत अनलाइनमा लेखेका थिए ।

अधिकारीको प्रश्नपछि अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमा व्यक्तिगत आक्षेप लगाउने प्रश्न गर्न नहुँने भन्दै संचारकर्मीलाई आंचारसहिता हेर्न सुझाव दिए ।

‘व्यक्तिगत आक्षेप लाग्न सक्छ, सत्यतथ्यमा बोल्नुपर्छ, तपाईमाथि पनि आक्षेप लाग्न सक्छ, यस्ता कुराहरु प्रेसमा बोल्दा बिचार गर्नुपर्छ, आंचारसहिताको ख्याल गर्नुहोला,’ मन्त्री खतिवडाले भने, ‘यस्ता कुराहरु पत्रकार सम्मेलनमा बोलिँदैनन्, ख्याल गर्नुहोला । आचारसंहिता तपाईंको पनि छ, मेरो पनि छ ।’

आफ्नो छोरीज्वाँइको अनियमितताको विषयमा प्रश्न आएपछि खतिवडाले अँध्यारो मुख लगाएका थिए ।


पुष्प दुलाल