युवराज खतिवडा फेरि अर्थमन्त्रीमा नियुक्ति हुने



काठमाडौं । डा. युवराज खतिवडा फेरि अर्थमन्त्रीमा नियुक्ति हुने भएका छन् । राष्ट्रियसभाको सदस्यको कार्यकाल सकिएपछि मंगलबार खतिवडाले मन्त्री पदबाट दिएको राजिनामा स्वीकृत भइससकेको छ ।

खतिवडाको राजिनामा स्वीकृत भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन् ।

मृगौला प्रत्यारोपणका लागि फागून १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले उपचारपछि खतिवडालाई नै फेरि अर्थमन्त्रीमा नियुक्ति गर्ने बताइएको छ । ओलीको मृगौला प्रत्यारोपण भोलि अर्थात् फागून २१ गते छ ।

‘प्रधानमन्त्री ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार फेरि अर्थमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ नेकपा उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

अर्थमन्त्री डा. खतिवडाको राजीनामा स्विकृत

संविधानमै सांसद नभएको व्यक्तिलाई पनि मन्त्री नियुक्ति गर्न पाइने व्यवस्था छ । तर, यसरी मन्त्री भएको व्यक्ति मन्त्रीको सपथ लिएको ६ महिनाभित्र संविधानको धारा ७८ उपधारा १ मा संघीय संसदको सदस्यता प्राप्त गरिसक्नु पर्ने व्यवस्था  छ ।

नेकपाभित्रको विवादका कारण सरकारले राष्ट्रियसभाको सदस्यका लागि कसैको पनि नाम सिफारिस गर्न सकेको छैन ।

‘सांसद नभए पनि खतिवडा फेरि मन्त्री हुनुहुने भएको छ,’ नेकपा स्रोतले भन्यो, ‘अपबादबाहेक भोलि (बुधबार) उहाँको नियुक्ति र सपथ हुनेछ ।’

स्रोतका अनुसार ओलीले खतिवडालाई ६ महिनाभित्र सांसदमा मनोनित गर्ने आश्वासन पनि दिएका छन् । तर, नेकपाभित्र विवाद चर्किएको अवस्थामा प्रधानमन्त्री ओलीले खतिवडालाई सांसदमा मनोनित नगर्न सक्ने संभावना पनि छ । सांसदमा मनोनित हुन नसके खतिवडा ६ महिनापछि मन्त्रीबाट हट्नेछन् ।

०७४ फागून १४ गते अर्थमन्त्री भएका खतिवडा फागून २० गते राष्ट्रियसभाको सदस्यमा मनोनित भएका थिए ।

केही दिनअघि नेकपा सचिवालयको बैठकले खतिवडाको ठाउँमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सरकारलाई सिफारिस गरेको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको उक्त सिफारिस कार्यान्वयन गर्न नसक्ने प्रतिक्रिया दिइसकेका छन् । ओलीले यस्तो प्रतिक्रिया दिएपछि नेकपाभित्र विवाद चुलिएको छ ।

पार्टीमा विवाद चुलिएसँगै उक्त रित्त पदमा कसैको नाम सिफारिस हुन नसकेको हो ।


पुष्प दुलाल