कुकुर र बिरालोका लागि विदेशबाट करोडौंको खानेकुरा किन्छ हाम्रो देश, कहाँबाट कति (सूचीसहित)



काठमाडौं । नेपालले विदेशीलाई सामान बेच्ने र विदेशबाट सामान किन्नेबीचको अन्तर धेरै ठूलो छ । निर्यातको तुलनामा आयात अत्याधिक छ । जसले ब्यापारघाटा बढाएको छ ।

हाम्रो देश प्राय सबै वस्तुमा परनिर्भर छ । जसकारण आयात अत्याधिक भएको हो । नेपालले हरेक व्यक्तिलाई दैनिक उपभोग्य बस्तु देखि निकै बिलासी सामानको समेत आयात गरिरहेको छ ।

त्यति मात्रै होइन, नेपालमा कुकुर र बिरालोका लागि खाने बस्तु समेत विदेशबाट आयात हुने गरेको छ । त्यो पनि थोरै होइन, करोडौं रुपैयाँको ।

भन्सार विभागको तथ्याङक अनुसार नै चालु आर्थिक वर्षको ७ महिनामा १२ वटा देशबाट कुकुर र बिरालोका लागि ९ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको खानेवस्तु आयात भएको छ ।

७ महिनाको अवधिमा ५१ हजार ९ सय ४ किलो खानेवस्तु ९ करोड ७७ लाख २८ हजार रुपैयाँको आयात भएको छ ।

यो अवधिमा सबैभन्दा बढी कुकुर र बिरालाको खाना क्यानडाबाट आायत भएको छ । क्यानडाबाट ४ करोड ९० लाख ५९ हजार रुपैयाँको २९ हजार ४८५ किलो आयात भएको छ ।

यस्तै दोस्रोमा बेलायत रहेको छ । बेलायतबाट ७ महिनाको अवधिमा १ करोड ७१ लाख ६३ हजार रुपैयाँको ४ हजार ८२० किलो कुकुर र बिरालोको खाना आयात भएको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्याँक अनुसार यो ७ महिनाको अवधिमा जापानबाट १ करोड २२ लाख ९६ हजार रुपैयाँको ७ हजार ९३६ किलो आयात भएको छ ।

त्यसैगरी, नेदरल्याण्डबाट ४८ लाख ८९ हजारको २२ सय ५६ किलो, सिंगापुरबाट ४७ लाख ७ हजारको २५५४ किलो, ताइवानबाट ३६ लाख ६२ हजारको १९३६ किलो कुकुर र बिरालोको खाना आएको छ ।

विभागका अनुसार हङकङबाट ३० लाख ७० हजारको १६४२ किलो, सियरा लियोनबाट १२ लाख ४० हजारको ५४० किलो, यनाइटेड अरब इमिरेट्सबाट ८ लाख ७४ हजारको ३८५ किलो, थाइल्याण्डबाट ४ लाख ८६ हजारको २०५ किलो, भियतनामबाट १ लाख ५१ हजारको ८५ किलो र दक्षिण कोरिणबाट १ लाख ३१ हजारको ६० किलो कुकुर र बिरालोको खानेवस्तु आयात भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख १३ हजार रुपैयाँको आयात गर्दा निर्यात भने ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार रुपैयाँ मात्रै छ । यो अवधिमा नेपालले ७ खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८८ हजार रुपैयाँ ब्यापार घाटामा रहेको छ ।


पुष्प दुलाल