प्रचण्डको घोषणा: राष्ट्रियसभामा बामदेव, अर्थमन्त्रीमा खतिवडाको निरन्तरता



चितवन  ।   नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा रिक्त हुने पदमा बामदेव गौतमको सिफारिस हुने र अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने बताएका छन् ।

गृहजिल्ला चितवन पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको भेटमा बामदेव गौतमलाई राष्ट्रियसभामा लग्ने निर्णय पार्टीले सर्वसम्मत रुपमा गरेको र यो निर्णय कार्यान्वयन हुने बताए ।

‘निर्णय कार्यान्वयन प्रधानमन्त्रीज्यूले गर्नुहुन्न भन्ने म कल्पना समेत गर्न सक्दिन, रिक्त हुने राष्ट्रियसभामा बामदेवजी जानुहुने छ, संविधान अनुसार नै युवराज खतिवडालाई अर्थमन्त्री बनाउन अहिलेलाई समस्या छैन,’ प्रचण्डले पत्रकारहरुसँग भने ।

उनले आफूले अर्थमन्त्री हटाउनका लागि कुनै गोप्य मिटिङ समेत नगरेको बताए । बुधबार बसेको नेकपाको सचिवालयको बैठकले फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको सदस्य पदमा अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई लैजाने निर्णय गरेको थियो ।

तर  बैठक सकिएको एक घण्टापछि प्रधानमन्त्रीले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न आफू बाध्य नभएको भन्दै खतिवडालाई नै निरन्तरता दिने बताएका थिए । त्यसपछि नेकपामा ठूलो विवाद देखिएको छ ।


क्लिकमान्डु