भेनेजुएलाको राष्ट्रपति बनिन् डल्सी, दिइन् कडा अभिव्यक्ति



भेनेजुएला । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि त्यहाँको सर्वोच्च अदालतले उपराष्ट्रपति डल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपतिको शक्ति र जिम्मेवारी सम्हाल्न आदेश दिएको छ ।

स्थानीय समय अनुसार शनिबार राति घोषणा गरिएको उक्त अदालतको आदेशमा मदुरो आफ्नो कार्य सम्पादन गर्न ‘भौतिक र अस्थायी रूपमा असमर्थ’ रहेको निष्कर्ष निकालिएको छ ।

सरकारी टेलिभिजन च्यानल ‘भीटीभी’बाट प्रत्यक्ष प्रसारित सत्रमा न्यायाधीश तानिया डी’अमेलियोले अदालतको आदेश पढेर सुनाएकी थिइन् ।

आदेशमा भनिएको छ, ‘प्रशासनिक निरन्तरता र राष्ट्रको व्यापक रक्षा सुनिश्चित गर्नका लागि रोड्रिग्वेजले कार्यवाहक राष्ट्रपतिको रूपमा भेनेजुएलाको बोलिभेरियन गणतन्त्रको राष्ट्रपतिको कार्यालयमा निहित सबै शक्ति, कर्तव्य र अधिकारहरू प्रयोग गर्नेछिन्।’

भेनेजुएलाको संविधानमा राष्ट्रपतिको अस्थायी वा पूर्ण अनुपस्थिति भएको खण्डमा उपराष्ट्रपतिले उनको स्थान लिई कार्यभार सम्हाल्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक प्रावधानको आधारमा रोड्रिग्वेजलाई यो जिम्मेवारी सुम्पिएको हो।

अमेरिकाले मदुरोलाई पदच्युत गरेको यो कदमसँगै भेनेजुएलाको राजनीतिले नयाँ मोड लिएको छ ।

को हुन् डल्सी रोड्रिग्वेज?

५६ वर्षीया रोड्रिग्वेज कराकास निवासी हुन् र उनले भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयबाट कानुन अध्ययन गरेकी छिन् । उनी विगत दुई दशकदेखि ‘चाविज्मो’ आन्दोलनकी एक प्रमुख व्यक्तित्व हुन्।

उनले सन् २०१३ देखि २०१४ सम्म सञ्चार र सूचना मन्त्री तथा सन् २०१४ देखि २०१७ सम्म विदेश मन्त्रीको रूपमा काम गरिसकेकी छिन् । विदेश मन्त्रीको रूपमा उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा मदुरो सरकारको कडा बचाउ गर्दै आएकी थिइन् । सन् २०१८ मा मदुरोले उनलाई उपराष्ट्रपति नियुक्त गरेका थिए। हाल उनी अर्थ र पेट्रोलियम मन्त्रीको जिम्मेवारीमा समेत थिइन् ।

मदुरोले कट्टर समर्थक भएका कारण उनलाई ‘बाघिनी’को संज्ञा दिने गरेका छन् । सन् १९६९ मा जन्मिएकी रोड्रिग्वेज वामपन्थी छापामार नेता जोर्ज एन्टोनियो रोड्रिग्वेजकी छोरी हुन् । उनी र उनका भाइ जोर्ज रोड्रिग्वेज (हालको राष्ट्रिय सभाका अध्यक्ष) भेनेजुएलाको राजनीतिमा दुई दशकदेखि निकै प्रभावशाली छन्।

भेनेजुएलाको विपक्षी दल र केही अन्तर्राष्ट्रिय समुदायले सन् २०२४ को चुनावलाई धाँधलीपूर्ण मान्दै मदुरोलाई वैध राष्ट्रपति स्वीकार गरेका छैनन् । उनीहरूले एडमुन्डो गोन्जालेज उरुटियालाई वास्तविक विजेता मान्दै आएका छन् । यद्यपि, रोड्रिग्वेज मदुरोको “पूर्ण विश्वासपात्र” र सरकारमा बलियो पकड भएकी नेता मानिन्छिन् ।

मदुरोको गिरफ्तारीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकार सम्मेलनमा विदेश मन्त्री मार्को रुबियोले रोड्रिग्वेजसँग कुरा गरेको र उनले वासिङ्टनसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए। ट्रम्पका अनुसार रोड्रिग्वेजले “तपाईंहरूलाई जे आवश्यक पर्छ, हामी त्यो गर्नेछौं” भनेकी थिइन्।

तर, ट्रम्पको यो दाबीको विपरीत रोड्रिग्वेजले भने कडा अभिव्यक्ति दिएकी छन् । उनले अमेरिकासँगको कुनै पनि सहकार्यको सम्भावनालाई नकार्दै भनेकी छिन्, ‘यो देशमा एउटै मात्र राष्ट्रपति छन् र उनको नाम निकोलस मदुरो मोरोस हो ।’

राजनीतिक विश्लेषक इमदत ओनरका अनुसार, रोड्रिग्वेज मदुरोको तुलनामा नरम विकल्प होइनन्, बरु उनी प्रणालीकै सबैभन्दा शक्तिशाली र कठोर पात्र हुन् । हालका लागि उनी लोकतान्त्रिक नेता चयन नभएसम्म ‘केयरटेकर’ (रेखदेख गर्ने) भूमिकामा रहने अनुमान गरिएको छ।