
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल किन्ने देशहरूमाथि ५०० प्रतिशतसम्म कर (ट्यारिफ) लगाउन सक्ने एउटा विधेयकलाई समर्थन गरेका छन् ।
यसबाट ह्वाइट हाउसलाई भारत र चीन जस्ता देशहरूविरुद्ध दबाब सिर्जना गर्ने अवसर मिल्नेछ, ताकि उनीहरूलाई रूसबाट सस्तो तेल किन्नबाट रोक्न सकियोस् ।
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले बुधबारयो कानुनले ह्वाइट हाउसलाई चीन, भारत र ब्राजिल जस्ता देशहरूलाई रूसबाट सस्तो तेल किन्न बन्द गर्न प्रोत्साहित गर्ने बताए ।
ग्राहमले बुधबार एक्समा एक पोस्ट गर्दै भने, ‘आज राष्ट्रपति ट्रम्पसँग विभिन्न मुद्दाहरूमा भएको अत्यन्तै फलदायी बैठकपछि, उनले रूस प्रतिबन्ध विधेयकलाई हरियो झण्डा (अनुमति) दिएका छन्। यसमा म सिनेटर ब्लुमेन्थल र अन्य धेरै जनासँग महिनौंदेखि काम गरिरहेको थिएँ ।’
उनले भने, ‘यो विधेयक यस्तो समयमा आएको छ जब युक्रेन शान्तिका लागि केही सम्झौताहरू गरिरहेको छ तर पुटिन भने केवल कुरा मात्र गरिरहेका छन् र निर्दोषहरूको हत्या जारी राखेका छन्। यो विधेयकले राष्ट्रपति ट्रम्पलाई सस्तो रूसी तेल किन्ने र पुटिनको ‘युद्ध मेसिन’लाई बढावा दिने देशहरूलाई दण्डित गर्ने अनुमति दिनेछ ।’
उनले अगाडि भनेका छन्, ‘यो विधेयकले राष्ट्रपति ट्रम्पलाई चीन, भारत र ब्राजिल जस्ता देशहरू विरुद्ध कडा दबाब सिर्जना गर्ने शक्ति दिनेछ ताकि उनीहरूलाई सस्तो रूसी तेलको खरिद बन्द गर्न प्रोत्साहित गर्न सकियोस्, जसले युक्रेन विरुद्ध पुटिनको रक्तपातका लागि आर्थिक सहायता उपलब्ध गराउँछ।’
ग्राहमले यस विधेयकमा छिटोभन्दा छिटो अर्को हप्तासम्ममा मतदान हुने आशा गरेका छन् ।
भारतमाथि ट्यारिफ
ट्रम्पले भारतमाथि ५० प्रतिशत महसुल लगाएका छन् । यसमा रूसी तेलको खरिदमा २५ प्रतिशत महसुल पनि समावेश छ ।
ग्राहम र ब्लुमेन्थलले ‘२०२५ को रूस प्रतिबन्ध अधिनियम’ पेश गरेका थिए, जसले ‘युक्रेनमा पुटिनको बर्बर युद्धलाई लगानी जारी राख्ने’ देशहरूमाथि महसुल र प्रतिबन्ध लगाउनेछ ।
यस विधेयकमा रूसी तेलको खरिद र पुनः बिक्रीमा ५०० प्रतिशत महसुल लगाउने प्रस्ताव गरिएको छ।
सिनेटको वैदेशिक सम्बन्ध समितिका लगभग हरेक सदस्यले यसलाई सह-प्रायोजन गर्दै समर्थन गरेका छन् ।
ग्राहम र ब्लुमेन्थलले गत वर्ष एक संयुक्त विज्ञप्तिमा भनेका थिए, ‘प्रकान राष्ट्रपति ट्रम्प र उनको टोलीले रूस र युक्रेन बीचको यो रक्तपात रोक्नका लागि एउटा नयाँ दृष्टिकोण अपनाउँदै सशक्त कदम चालेका छन् । यद्यपि, यो युद्ध समाप्त गर्ने अन्तिम उपाय चीन, भारत र ब्राजिल जस्ता देशहरूमाथि महसुल लगाउनु नै हुनेछ, जसले सस्तो रूसी तेल र ग्यास किनेर पुटिनको युद्ध मेसिनलाई समर्थन गरिरहेका छन् ।’
यस हप्ताको सुरुमा ग्राहमले भनेका थिए कि अमेरिकाका लागि भारतीय राजदूत विनय क्वात्राले उनलाई भारतले रूसी तेलको खरिदमा कमी गरिरहेको बारे जानकारी दिएका थिए र उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भारतमाथि लगाइएको ‘महसुलमा राहत’ दिन आग्रह गर्न भनेका थिए ।
आइतबार एयर फोर्स वानमा ट्रम्पसँग यात्रा गरिरहेका ग्राहम उनको महसुल विधेयकबारे कुरा गरिरहेका थिए।
ग्राहमले भने कि रूस-युक्रेन द्वन्द्व अन्त्य गर्नका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका ग्राहकहरूमाथि दबाब दिनु आवश्यक छ ।
ट्रम्पले भने कि प्रतिबन्धहरूले रूसलाई निकै नराम्रोसँग क्षति पुर्याइरहेका छन् र त्यसपछि उनले भारतको उल्लेख गरे ।
भारतीय राजदूतसँगको भेटघाट
यसपछि ग्राहमले भने कि अमेरिकाले रूसबाट तेल किनेकोमा भारतमाथि २५ प्रतिशत महसुल लगाएको छ।
ग्राहमले भने, ‘लगभग एक महिनाअघि म भारतीय राजदूतको निवासमा थिएँ, र उनी केवल यस बारेमा कुरा गर्न चाहन्थे कि उनीहरू रूसबाट कम तेल किनिरहेका छन् ।’
उनले अगाडि बताए कि भारतीय राजदूतले उनलाई सोधेका थिए, ‘के तपाईं राष्ट्रपतिलाई महसुलमा छुट दिनका लागि भन्नुहुन्छ?’
ग्राहमले भने, ‘यो रणनीति प्रभावकारी छ। तर यदि तपाईं सस्तो रूसी तेल किनेर पुटिनको युद्ध मेसिनलाई चालू राखिरहनुभएको छ भने, हामी राष्ट्रपतिलाई महसुल मार्फत यसलाई एउटा कठिन विकल्प बनाउने क्षमता दिने प्रयास गरिरहेका छौं। मेरो विश्वास छ कि ट्रम्पले भारतसँग जे गरे, त्यही मुख्य कारण हो कि भारतले अहिले रूसबाट निकै कम तेल किनिरहेको छ।’
अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले गत महिना वासिङ्टन डीसीमा भारतीय राजदूतको आधिकारिक निवास ‘इन्डिया हाउस’ मा अमेरिकी सिनेटरहरू ग्राहम, ब्लुमेन्थल, शेल्डन ह्वाइटहाउस, पिटर वेल्च, ड्यान सुलिवन र मार्कवेन मुलिन लगायत धेरै सिनेटरहरूको आतिथ्यता गरेका थिए।
क्वात्राले एक्समा एक पोस्ट गर्दै भनेका थिए, ‘ऊर्जा र रक्षा सहयोगदेखि व्यापार र महत्त्वपूर्ण वैश्विक घटनाक्रमसम्म, भारत-अमेरिका साझेदारीमा सार्थक कुराकानी भयो। मजबुत भारत-अमेरिका सम्बन्धका लागि उनीहरूको समर्थनप्रति म आभारी छु।’








प्रतिक्रिया