अदालतले भन्योः रिलायन्सविरूद्धका समाचार प्रथम दृष्टिमै झुटो, भ्रमपूर्ण र अनर्गल


काठमाडौं । काठमाडौं जिल्ला अदालतले पुँजी बजारमा आफ्नो स्वार्थशिद्धिका लागि भ्रमपूर्ण समाचार फैलाउने कार्य बन्द गर्न आदेश दिएको छ । रिलायन्स स्पिनिङ मिल्सले दायर गरेको गाली बेइज्जती तथा निशेधाज्ञाको मुद्दामा यस्तो आदेश भएको हो ।

रिलायन्सले आईपीओ निष्काशन गरेपछि केही समययता केही व्यक्ति तथा सञ्चारमाध्यममा रिलायन्सबारे विभिन्न कोणमा समाचार तथा टिप्पणाी आएको थियो । रिलायसले उनीहरुले कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल र गलत तथ्य उल्लेख गरेको भन्दै जिल्ला अदालतमा रिट दायर गरेको थियो ।

रिलायन्सले कम्पनी र कम्पनीको संस्थापकलाई बेईज्जी गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रशारण गरिएको भन्दै बुधबार निशेधाज्ञा तथा गाली बेइज्जती मुद्दा दायर गरेको थियो । न्यायाधीश रामचन्द्र खड्काको इजलाशले बिहीबार सुनुवाई गर्दै रिलायन्सविरुद्ध प्रकाशन तथा प्रशारण भएका समाचारलाई प्रथम दृष्टिमै झूटो, भ्रमपूर्ण र अनर्गल भनेको छ ।

आदेशमा भनिएको छ, ‘उल्लेखित शिर्षकका सम्बन्धी सामाग्रीहरु सञ्चार माध्यम तथा अनलाईन समेतमा प्रकाशन प्रसारण नगर्न नगराउन र प्रकासन प्रशारण गरिसकेका उक्त सामाग्रीहरु थप सम्प्रेषण हुन नदिनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

रिलायन्सको आईपीओ रोक्न करिब २ वर्षदेखि विभिन्न मुद्दा मामिला गरे पनि अदालतको आदेशपछि सेयर निष्काशन प्रक्रिया अघि बढेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतको प्रक्रियामा गइसकेको छ । रिलायन्सले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गरेको थियो । बुक बिल्डिङ बिधिमार्फत निष्काशित कूल सेयरको ४० प्रतिशत (७ लाख ७० हजार ६४० कित्ता) सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिएको छ । संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९१२ रुपैयाँको दरले सेयर बिक्री गरिएको थियो ।

बुक बिल्डिङ निर्देशिका बमोजिम ६० प्रतिशत शेयर आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, म्युचुअल फण्ड तथा कर्मचारीलाई बाँडफाँट गरिएको छ । निर्देशिका अनुसार संस्थागत लगानीकर्तालाई बिक्री गरिएको ‘कट अफ’ मूल्यको १० प्रतिशत डिस्काउन्ट गरेर प्रतिकित्ता ८२०.८० रुपैयाँ तय भएको थियो ।

ग्लोबल आईएमई क्यापिटलको निष्काशन तथा बिक्री प्रवधकत्वमा भएको आईपीओमा गोला प्रथाबाट प्रतिआवेदक न्यूनतम ५० कित्ताको दरले शेयर बाँडफाँट गर्दा २१ हजार ८०७ जनाले शेयर पाएका छन् । आमसर्वसाधारणतर्फ १८ हजार ४९५ जना र वैदेशिक रोजगारी समूहतर्फ २ हजार ३११ जनालाई शेयर बाँडफाँट गरिएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।