नागरिक लगानी कोषले दर्ता गर्यो ‘स्टक डिलर’ कम्पनी, सेयर बजारमा कस्तो आउला सुधार ?



काठमाडौं । नागरिक लगानी कोषले सेयर कारोबार गर्नको लागि कम्पनी रजिष्टारको कार्यालयमा सहायक स्टक डिलर कम्पनी ‘नागरिक स्टक डिलर’ दर्ता गरेको छ ।

उक्त कम्पनीमा कोषको ५१ प्रतिशत सेयर रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशतले रहेको छ । बाँकी रहेको ३० प्रतिशत सर्वसाधारणमा साधारण सेयर जारी हुनेछ ।

उक्त सहायक कम्पनीको चुक्ता पुँजी ५ अर्ब र अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुने कोषले जनाएको छ । उक्त नागरिक स्टक डिलर कम्पनीमा कोषको २ अर्ब ५५ करोड, नेपाल पुनर्बीमा कम्पनीले ५० करोड र नेपाल टेलिकमले ४५ करोड सेयर स्वामित्व हुनेछ ।

बाँकी १ अर्ब ५५ करोड रुपैयाँ बराबरको सर्वसाधारणलाई साधारण सेयर जारी गरिने छ ।

कम्पनी दर्ता भएसँगै कोषले स्टक डिलरको काम अगाडी बढाउने निश्चित भएको छ । लामो समय देखि सेयर लगानीकर्ताहरुले पनि स्टक डिल्लरको माग गर्दै आएका थिए ।
बजारमा लामो समयदेखि आएको गिरावटलाई कम गर्न भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्टक डिलरको काम गर्न कोषलाई विभिन्न समयमा आग्रह गर्दै आएका थिए ।

बजारमा गिरावट देखिएको र मन्त्रीको आलोचना हुन थालेपछि कोष आफैले पनि विभिन्न समयमा सेयर खरिद गरिरहेको थियो । कम्पनी दर्ता भएसँगै अब स्टक डिलरबाट कारोबार हुने निश्चित भएको छ । स्टक डिलर कम्पनीले सेयरबजारको माग र आपूर्तिलाई सन्तुलन राख्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कोषका अनुसार उक्त नागरिक स्टक डिलरको सञ्चालक समितिमा कोषका ३, नेपाल पुनर्बीमा कम्पनीको १ र नेपाल टेलिकमको १ सहित ५ रहेनछन् भने १ जना विज्ञ सदस्य रहने बताइएको छ ।

कोषले आगामी बढीमा ३ महिना भित्रमा स्टक डिलरको काम शुुरु गर्ने जानकारी गराएको छ । कोषका कार्यकारी निर्देशक रमण नेपालले सहायक कम्पनीको लागि आवश्यक कानून तयार पार्न केही समय लाग्ने बताए ।


पुष्प दुलाल