हिमालयन बैंक तत्काल मर्जरमा नजाने



काठमाडौं । हिमालयन बैंक तत्काल मर्जरमा नजाने भएको छ । राष्ट्र बैंकले नै तत्काल मर्जरमा जान नपर्ने भनेकाले हिमालयन बैंक तत्काल मर्जरमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

बैंकको बुधबार सम्पन्न साधारणसभामा शेयरधनीले मर्जरको विषयमा बैंकको धारणा के हो ? के गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

फ्लोरबाट उठेका प्रश्नको जवाफ दिँदै सीइओ भने ‘हबिबको शेयरको बेच्न लागेको र अर्को विदेशी साझेदार खोज्न क्रममा रहेकोले अहिले मर्जरमा जान पर्दैन भनेर राष्ट्र बैंकले हामीलाई भनेको छ, त्यसैले हामी तत्काल मर्जरमा जाँदैनौं ।’

हिमालयन बैंकको २० प्रतिशतको सेयरधनी पाकिस्थानी बैंक हबिब बाहिरिने प्रक्रियामा छ भने उक्त सेयर बेलायतको सीसीडीले किन्ने प्रक्रिया शुरु भइसकेको छ ।

सीसीडीले सेयर किनिसमेपछि मात्रै मर्जरको बारेमा आवश्यक छलफल गर्ने राणाले जानकारी दिए ।

‘अहिले कुनै पनि बैकसँग मर्जर छलफल भएको छैन,’ उनले भने, ‘राष्ट्र बैक रअर्थ मन्त्रालयले पनि फोर्स मर्जर भन्दा पनि बिचार मिल्छ भने मात्रै मर्जरमा जान भनेकोले हामी त्यसै बसेका हौं ।’

बिचार मिल्ने राम्रो बैंक आएमा आवश्यक छलफल गर्न तयार रहेको पनि उनले जानकारी गराए ।

बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ रुपैयाँ पुगेको छ ।

श्रेष्ठले २७ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ सम्ममा १ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसी प्रसाद गौतम, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित गरेको छ ।


पुष्प दुलाल