भिजिट नेपाल र आर्थिक सम्मृद्धि, पर्यटनमन्त्री भट्टराईले सोचेजस्तो होला त ?



काठमाडौं । एक वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ को शुरुवात भइसकेको छ । पर्यटन प्रवद्र्धनका लागि गरिन लागेको यो प्रयास सन् १९९८ र सन् २०११ पछि तेस्रो पटक हो ।

पर्यटन क्षेत्रको विकास गर्ने, यसमा रोजगारी बढाउने, मुलुकको अर्थतन्त्रमा समेत योगदान गर्ने उद्देश्यसहित समृद्ध नेपालको यस अभियानमा पर्यटन वर्षलाई पनि जोडिएको थियो ।

तर यसको शुरुवाती लक्षणले भने यो सोचे अनुसार पूरा हुनेमा भने आशंका देखिएको छ । सन् २०१९ मा आएका पर्यटकको संख्याले नै २० लाखको तथ्यांकलाई निकै पर धकेलिदिएको छ ।

सरकारको सोच थियो वर्ष २०१८ मा ११ लाख ७२ हजार पर्यटक आए भने सन् २०१९ मा यो संख्या बढेर १५ लाख पुग्छ । नियमित वृद्धिदरले मात्रै पनि भिजिट नेपालको वर्षमा तामझाम गर्दा २० लाखको नजिक नजिक पुगिन्छ । जसलाई सफलताको मानक पनि मान्न सकिन्छ भन्ने थियो ।

तर भइदियो उल्टो, सन २०१८ को तुलनामा २०१९ मा पर्यटकको संख्या ३ लाखले बढ्नु थियो तर २० हजारले कमी भइ जम्मा ११ लाख ५२ हजार पर्यटक नेपाल आएको तथ्यांकले अद्यागमन विभागको तथ्यांकमा छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले पनि पटक-पटक भनिसकेका छन् कि २० लाख पर्यटक ठूलो कुरा होइन, त्यो अहिलेको वृद्धिदर हेर्दा पनि देखिन्छ अबको लक्ष्य ‘भिजिट नेपाल ट्वान्टी–थर्टी’ हो भन्दै आएका छन् ।

उनले अबको एक दशक पर्यटन क्षेत्रको विकासमा लाग्नु पर्ने भन्दै भिजिट नेपाल २०२० को मध्यतिर एक दशकका लागि योजना घोषणा गर्ने भन्दै आएका छन् ।

तर अहिलेको तथ्यांक हेर्दा १५औं योजनाले लिएका लक्ष्य १० वर्षमा पूरामात्रै पूरा हुने देखिएको छ ।

आर्थिक वर्ष २०७४/७५ को तथ्यांक हेर्दा नेपालमा ९ लाख ४० हजार पर्यटक आएका थिए । पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा २.६ प्रतिशत योगदान पुगेको थियो र ३१ हजारले रोजगारी पाएका थिए । पर्यटकको खर्च प्रति दिन ५४ अमेरिकी डलर थियो भने औसत बसाइ १३ दिनको थियो ।

१५औं योजनाले आर्थिक वर्ष २०८०/८१ सम्ममा पर्यटकको संख्या तीन गुणाभन्दा बढीले बढाएर ३५ लाख पुर्याउने र औसत बसाइ १३ दिनबाट १५ दिनसम्म पुर्याउने साथै पर्यटकको खर्च प्रतिदिन ५४ अमेरिकी डलरबाट झण्डै दोब्बर बढाएर १०० अमेरिकी डलर पुर्याउने लक्ष्य लिइएको छ ।

साथै रोजगारीको संख्या ३१ हजारबाट बढाएर ४ लाख ९० हजार पुर्याउने लक्ष्य थियो भने कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य लिइएको थियो ।

योजना भए पनि राम्रोसँग कार्यान्वयन नहुँदा सकारात्मक हुनुका साटो झन नकारात्मक भइरहेका छन् । पर्यटकको औसत दिन १३ दिनबाट घटेर १२ दिनमा आइपुगेको छ भने पर्यटनको औसत खर्च प्रतिदिन ५४ अमेरिकी डलरबाट झरेर ४४ अमेरिकी डलरमा आइसकेको छ ।

यहाँ निर वर्ष २०१९ जेट एयरलाइन्स बन्द हुनु, विमानस्थल मर्मतमा धेरै समय खर्च हुनुलाई केही आधार बनाइएको छ र सन् २०२० मा ४ वटा नयाँ एयरलाइन्स थपिने, गौतम बुद्ध विमानस्थल पनि सञ्चालनमा आउने भएकाले संख्या बढ्नेमा आशा अझै पनि छ ।

तर समृद्धिको सपनामा सोचिएको आँकडा भने भेट्याउन निकै गाह्रो हुने संकेत आइसकेको छ ।

कहाँ छ समस्या ?

१५ औं योजनाले नै समस्यालाई स्पष्टसँग उल्लेख गरेको छ । जसमा भनिएको छ, ‘पर्यटन विकासमा पर्यटन उपज र क्रियाकलापको अपेक्षित विकास र विविधीकरण हुन नसक्नु, अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन अपेक्षित रुपमा गर्न नसकिनु, पर्यटन पूर्वाधारको कमी हुनु, धार्मिक तथा सास्कृतिक सम्पदाहरुको संरक्षण सम्बद्र्धन र पर्यटन विकासमा निजी क्षेत्रलाई पर्याप्त सहभागी गराउन नसक्नु, पर्यटन क्षेत्रको विकासमा उद्यमशीलता विकासलाई जोड्न नसक्नु, पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचित वितरण हुन नसक्नु र पर्यटकीय गतिविधि प्रविधिमैत्री नहुनु प्रमुख समस्या छन् ।’

त्यस्तै, रणनीति तथा कार्यनितिमा छिमेकी मुलुक तथा प्रमुख पर्यटन बजारमा नेपाली पर्यटनको व्यापाक प्रचारप्रसार र प्रबद्र्धन गर्ने उल्लेख भए पनि सन् २०१९ मा छिमेकी मुलुक चीनबाट झिनो संख्याले पर्यटक बढे पनि भारतबाट आउने पर्यटकको संख्या निकै घटेको छ ।

त्यस्तै, पर्यटनको सम्भावना बोकेका शिक्षा, स्वास्थ्य र खेलकूद जस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गर्ने भनिए पनि हालसम्म त्यसले कार्यान्वयन हुने मौका पाएका छैन् ।


पुष्प दुलाल