७ अर्ब लागतमा पुनः निर्माण गरेपछि माथिल्लो भोटेकोशीले शुरु गर्यो विद्युत् उत्पादन



काठमाडौं । पटक–पटकको प्राकृतिक प्रकोपबाट झण्डै ६ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युतगृह रहेको आयोजनाबाट परीक्षण उत्पादन गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।

हाल दुबै युनिट सञ्चालनमा ल्याइए पनि नदीमा पानीको बहाव कम भएका कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । उक्त आयोजनाको पुनःनिर्माणका लागि २ वर्षअघि ७ अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ११ सँग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।

सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगेपछि ४ महिनासम्म बन्द भएको थियो र मर्मतपछि पुनःसञ्चालनमा आएलगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पनले क्षति पुर्याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारेको थियो । २०७४ मा पुनःनिर्माणको काम शुरु भएको हो ।

गत असार तेस्रो साता चाकुखोलामा आएको बाढीले पनि आयोजनाको प्रसारण लाइनको पाँच वटा टावरलाई क्षति पु¥याएको थियो । भूकम्प र बाढीले ३ किलोमिटर सुरुङ र विद्युतगृह बाहेक सबैलाई क्षति पुर्याएपछि सम्पूर्ण संरचनालाई नया रूपमा जडान गर्नुपरेको आयोजनाले जनाएको छ ।


क्लिकमान्डु