कलंकी-महाराजगञ्ज सडक विस्तार शुरु हुँदै, रुख काट्ने र पोल सार्ने कामले पायो तीव्रता



काठमाडौं । चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलंकी–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो ।
चक्रपथ विस्तारका लागि अहिले यस सडक खण्डमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेर निर्माणको काम शुरु हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

यसअघि कोटेश्वर–कलंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन उनले बताए । ‘विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो’ उनले भने ।

अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने काम भइरहेको छ । झण्डै ४०० पोल सार्ने काम सकिएको प्रमुख थापाले जानकारी दिए ।

उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत् खानेपानीका पाइप सार्ने काम भइरहेको छ । उनले भने, ‘खानेपानीका पाइप सार्नका लागि हामीले रकम दिइसकेका छौं, केयुकेएल ठेक्का सम्झौतामा गएको छ ।’

सडकको अधिकार क्षेत्रमा रहेका घर हटाउन बाँकी छन् । विभिन्न स्थानमा गरी २२ घर सडक निर्माण गर्ने स्थानमा रहेका प्रमुख थापाले बताए । ती घर अधिग्रहणका लागि मूल्यांकनको काम भइरहेको छ ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत् मुआब्जा वितरण भएपछि स्थानमा काम गर्न पाइन्छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायतका संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ ।

स्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो ।

भूकम्प पहिले नै कोटेश्वर–कलंकी सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युतका पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको छ । सो सडकमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतसम्ममा सडक हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको हो । पहिलो चरणको विस्तार (कोटेश्वर–कलंकी) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलंकी सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने प्रमुख थापाले बताए । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ ।

‘पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो,’ उनले भने, ‘बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने छ ।

आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलंकी चोकमा जस्तै अण्डरपास हुनेछ ।

यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए । बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । यस सडकखण्डमा ९ वटा आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ ।


क्लिकमान्डु