सिमेन्ट उद्योगको मन्दीको असरः शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घट्यो



काठमाडौं । शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड २७ लाख रुपैयाँ नाफा घटेर १९ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

बिहिबार नेपाल गुणस्तर तथा नाप तौल विभागबाट कम्पनीले ‘एनएस क्वालिटी अवार्ड २०१९’ प्राप्त गरेको थियो । अवार्ड पाएको भोलिपल्ट नै कम्पनीले भन्डै आधा नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

विगत केही महिना अगाडिदेखि सिमेन्ट उद्योगको व्यवसायमा मन्दी छाएको छ । बजारमा सिमेन्टको माग घटेपछि सबै सिमेन्ट कम्पनीहरुको व्यवसाय घटेको छ । जसमा शिवमको नाफा पनि ४६.५१ प्रतिशतले घटेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा, प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४४ पैसा र प्रतिसेयर मुल्य २८० रुपैयाँ ४५ पैसा रहेको छ ।

पछिल्लो वर्ष सिमेन्ट उद्योगको व्यवसाय कमजोर बन्दै गएको छ । मुलुकमा थप आर्थिक गतिविध बढ्न नसक्दा र पूर्वाधार विकासका कामहरु हुन नसक्दा त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको हो ।


पुष्प दुलाल