विद्युत् प्राधिकरण विरुद्ध उद्योगी साहिल अग्रवालको मुद्दा, फेरि पनि हेर्दा हेर्दैमा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बढी शुल्क तिर्न बाध्य भएको भन्दै उद्योगीले उच्च अदालत विरगन्जमा दायर गरेको मुद्दा फेरि हेर्दा हेर्दैमा परेको छ ।

पटक-पटक म्याद सर्दै गएको उद्योगीले दायर गरेको मुद्दा पुनः हेर्दा हेदैमा रहेको छ । उद्योगी साहिल अग्रवाललगायतको मुद्दाको यही कात्तिक २५ गते सोमबारको पेशी तोकिएपनि अन्तिम फैसला आएको छैन । सो मुद्दा पुनः हेर्दा हेर्दैमा रहेको छ ।

उच्च अदालत जनकपुरको विरगन्ज बेन्चमा मात्रै प्राधिकरण विरुद्धका १० मुद्दा रहेका छन् । न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र राजेन्द्र खरेलको संयुक्त इजलाशमा रहेको उक्त मुद्दा हेर्दा हेर्दैमा रहेको हो ।

उद्योगी साहिल अग्रवालले प्राधिकरणले तोकिए भन्दा बढी महसुल तिर्न पत्र पठाएको भन्दै २०७५ माघ २० गते मुद्दा दर्ता गरेका थिए । यस्तै सो अदालतमा सुनिलकुमार मनोत, निर्जन श्रेष्ठ, अभिमन्यूकुमार पोद्दार, गौरीशंकर श्रीवास्तव, सूर्य नेपाल प्रालि, जगदम्बा स्टिल, हामा आइरन स्टिल प्रालि , अशोक स्टिल, हुलास स्टिलको मुद्दा हेर्दा हेर्दैमा रहेको छ । यस्तै, हनुमान प्लास्टिक उद्योग, शिव गंगा खाद्य उद्योगको मुद्दा भने निवेदक कानून व्यवसायीको तर्फबाट स्थगित गरिएको छ ।

प्राधिकरणको डेडिकेटेड र ट्रङक लाइन मार्फत दिएको विद्युत्को महसुल बढी भएको भन्दै उनीहरु अदालत गएका थिए । उद्योगीले नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रलाई विपक्षी बनाएका छन् ।

यसअघि कूल २६ मुद्दा मध्ये १६ वटामा भने प्राधिकरणको पक्षमा फैसला आइसकेको छ । पाटन उच्च अदालतले १२ उद्योगीलाई प्राधिकरणले तय गरे अनुसारको महसुल उठाउन मिल्ने गरी फैसला गरिसकेको छ ।


पुष्प दुलाल