डेपुटी गभर्नर श्रेष्ठ प्रकरणः सरकारको चिठी बोकेर अर्थसचिव खनाल राष्ट्र बैंक जाने



काठमाडौं । अर्थसचिव राजन खनालले मन्त्रिपरिषद्को निर्णयको पत्र बोकेर राष्ट्र बैंकको सञ्चालक समितिमा जाने भएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय स्थायित्वमा खलल पार्ने काम गरेको, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उनीविरुद्ध विभिन्न उजुरीहरु परेको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भूमिका खेलेको लगायतका आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई श्रेष्ठसँग प्रष्टिकरण सोध्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था

राष्ट्र बैंक उच्च स्रोतका अनुसार आइतबार दिउँसो १ बजेसम्म औपचारिक रुपमा सरकारको निर्देशन पुगेको छैन ।

आइतबार अपराहन्न ४ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक छ । बैठकको एजेन्डा ४ वटा कम्पनीलाई मर्जर तथा एक्वायरको अन्तिम स्वीकृती र सैद्दान्तिक सहमति दिने विषय मात्रै रहेको छ ।

‘अहिलेसम्म सरकारको तर्फबाट डेपुटी गभर्नर श्रेष्ठको विषयमा भएको निर्णयको औपचारिक जानकारी हामीलाई प्राप्त भएको छैन, सम्भवः सचिवज्यूले आज साँझको बैठकमा सरकारको निर्देशनसहितको पत्र ल्याउनु हुनेछ’ राष्ट्र बैंकको उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

अर्थसचिव राष्ट्र बैंकको पदेन सञ्चालक हुन् । सरकारले राष्ट्र बैंकमा गर्नुपर्ने अर्थसचिवमार्फत् प्रस्तुत गर्छ ।

डेपुटी गभर्नर श्रेष्ठ प्रकरणमा पनि अर्थसचिव खनालले पत्र बोकेर सञ्चालक समितिको बैठकमा जानेछन् ।

राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा

सञ्चालक समितिको बैठकले सरकारको निर्देशन पालना गर्न छानविन समिति गठन गर्नेछ । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बित हुनेछन् । अनुसन्धानका क्रममा उनीमाथि लागेको आरोप प्रमाणित भयो भने मन्त्रिपरिषद्ले श्रेष्ठलाई बर्खास्ती गर्नेछ ।

डेपुटी गभर्नर श्रेष्ठले भने आफ्नो ३० वर्षे करिअर समाप्त पार्न गिरोह नै सक्रिय भएको क्लिकमाण्डूलाई प्रतिक्रिया दिए ।

‘डेपुटी गभर्नरका हैसियतले म भावी गभर्नरका लागि स्वतः दाबेदार हुँ, त्यसैले मेराविरुद्ध दुस्प्रचार गरेर गभर्नरको दौडबाट बाहिर फाल्ने प्रपञ्च हो’ श्रेष्ठले भने ।
सरकारको निर्देशनअनुसार आफूमाथि हुने छानबिनमा सहयोग गर्ने उनले बताए ।

‘छानबिन निष्पक्ष र स्वतन्त्र होस्, म छानबिनलाई सहयोग गर्छु, दोषी भए कारबाही भोग्न तयार छु, नत्र न्याय माग्न मैले पनि प्रयास गर्नेछु’, उनले भने, ‘मलाई विश्वास छ, लोकतन्त्र र कानूनी राज्यमा न्याय पाइन्छ ।’


क्लिकमान्डु