बीरगञ्जको रियल स्टिल्सले ९४ करोड लगानी थप गर्दै



काठमाडौं । रियल स्टिल्स प्रालिले उद्योग सञ्चालनका लागि ९४ करोड रुपैयाँ लगानी थप गर्ने भएको छ ।

यही नोभेम्बरदेखि सञ्चालन हुने भनिएको स्टिल उत्पादन उद्योग सञ्चालनका लागि दीर्घकालिन समयका लागि ४१ करोड र छोटो समयका लागि ५३ करोड रुपैयाँ ऋण लिई लगानी थप गर्ने भएको हो ।

पर्सा जिल्लाको वीरगञ्जस्थित यो उद्योग ४६ करोड १० लाख ३८ हजार रुपैयाँमा स्थापना भएको थियो । जसमध्ये २४ करोड ६० लाख ऋण थियो ।

गत जनवरी महिनामा सुरु हुने भनिएको प्रोजेक्ट विभिन्न कारणले ढिलाइ भएको थियो । प्रोजेक्ट सुरु हुन भएको ढिलाइ भएकाले खर्च बढेर ५९ करोड ७० लाख ५० हजार रुपैयाँ पुगेको थियो ।

तालिका अनुसार काम नभएको, वर्षायाम, श्रमिकहरुको अभावमा प्रोजेक्ट सुरु हुन सकेको थिएन । तर, प्रोजेक्ट अझै पनि कार्यान्वयनको चरण मै छ । सन् २०१९ को अगस्ट महिनासम्म प्रोजेक्टको काम जम्मा ६९ प्रतिशत मात्रै सकिएको छ ।

संशोधित प्रोजेक्टको खर्च १८ करोड ७० लाख ५० हजार रुपैयाँको पुँजी हुने अनुमान गरिएको छ भने लङ टर्म लोन ४१ करोड १० लाख रुपैयाँबाट खर्च हुने अनुमान गरिएको छ ।

कम्पनीले सन् २०१९ अगस्ट ३ सम्ममा ४१ करोड ४० लाख ८२ हजार रुपैयाँ प्रोजेक्टमा खर्च गरिसकेको छ । जसमा २० करोड ३० लाख रुपैयाँ ऋण लिइएको थियो ।

अधिकांश कच्चापदार्थ भारतबाट आयात गर्नु परेको अहिलेको अवस्थामा कच्चा पदार्थको बढ्दो मूल्य र विदेशी मूल्य विनिमयमा देखिएको उतारचढाव समस्या हुने देखिएको छ । प्रोजेक्टमा ७९ प्रतिशत खर्च कच्चा पदार्थमा हुँदै आएको छ ।

बढ्दो सहरिकणसँगै पाइप तथा हार्डवेयरको माग बढ्दो छ । साथै उर्जा र पर्यटन क्षेत्रको विकाससँगै स्टिलको उत्पादनको माग पनि प्रत्येक वर्ष बढ्दै गइरहेको छ । मुलुकको विकासका लागि भौतिक पूर्वाधार, सडक, पुल तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणको प्रक्रियामा रहेकाले स्टिलको माग बढ्ने अनुमान गरिएको छ ।

कम्पनीले आगामी वर्षमा फलाम र स्टिलको माग १० प्रतिशतले वृद्धि हुने अनुमान समेत गरेको छ । साथै सरकारले समेत भौतिक पूर्वाधार निर्माण तथा विकास र उर्जा क्षेत्रमा लगानी गर्ने तयारी गरेकाले यसको माग अझ बढ्ने कम्पनीको विश्वास छ ।

वीरगञ्जमा अवस्थित उद्योग वीरगञ्ज ड्राइ पोर्टदेखि १५ किमिको दूरीमा छ । भारतसँग नजिक रहेकाले उद्योगमा कच्चा पदार्थ ल्याउन समेत निकै सहज भइरहेको छ ।

कम्पनीले एमएस पाइप, सटर पट्टी र सटर गाइड उत्पादन गर्नेछ । कम्पनीले विभिन्न साइजमा सटरहरु उत्पादन गर्ने बताएको छ । जसलाई विभिन्न ठाउँमा सुरक्षाका लागि प्रयोग गरिन्छ । साथै कम्पनीले हट रोल्ड कोइल, कोल्ड रोल्ड कोइल समेत विभिन्न साइजमा उत्पादन गर्नेछ । कम्पनीले वार्षिक रुपमा ३० हजार टन एमएस पाइप, १५ हजार टन सटर पट्टी, ९ हजार टन सटर गाइड, ९ हजार टन हट रोल्ड कोइल र कोल्ड रोल्ड कोइल उत्पादन गर्नेछ ।

कम्पनीका प्रमोटरहरुले सन् २०१९ को जुलाइसम्ममा ७ करोड १६ लाख ५० हजार रुपैयाँ लगानी गरिसकेका छन् ।

कम्पनीमा वीरगञ्जका व्यापारीको लगानी छ । जसमा उद्योग र टेड्रिङ व्यवसायमा लामो अनुभव संगालेका प्रेमकुमार जतिया अध्यक्ष तथा प्रबन्ध निर्देशक छन् । त्यस्तै, विभिन्न व्यवसायमा १९ वर्ष बिताएका दीपक खन्ना कार्यकारी निर्देशक छन् । खन्ना भारतबाट सीए उत्तीर्ण छन् ।


पुष्प दुलाल