बजार सुस्ताए पनि आक्रमक बन्यो मेगा सिमेन्टः ५ गुणा क्षमता विस्तार गर्न ६० करोड लगानी थप्ने



काठमाडौं । सिमेन्ट कम्पनीहरुको कन्तबिजोग भइरहेका बेला झापामा रहेको मेगा सिमेन्टले भने ५ गुणाले उत्पादन क्षमता बढाउने भएको छ । क्षमता बढाउनका लागि कम्पनीले ६० करोड रुपैयाँ थप लगानी गर्न लागेको छ ।

सन् २०१४ मा स्थापना भएको कम्पनीले क्षमता विस्तार गर्ने योजना भए पनि ढिलाइ भइरहेको बताउँदै आएको छ ।

कम्पनीले अहिले प्रत्येक दिन २०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले प्रतिदिन ११०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित लगानी थप गर्न लागेको हो ।

उक्त उद्योगमा हालसम्म १३ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । कम्पनीको पुँजी र ऋणको अनुपात ६५ः३५% छ ।

सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो

कम्पनीको क्षमता विस्तार गर्नका लागि कुल पुँजी ७३ करोड ५० रुपैयाँ आवश्यक रहेको कम्पनीले जनाएको छ । जसमध्ये ३० करोड ९० लाख प्रमोटर र ४२ करोड ७० लाख बैंकबाट ऋण लिने भएको हो ।

अहिले कम्पनीको पुँजी र ऋणको अनुपात ५८ः४२ छ । कम्पनीले अहिले आफ्नो क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

कम्पनीले अहिले सिमेन्ट मात्रै उत्पादन गर्दै आएको छ भने अन्य सिमेन्ट कम्पनीसँग क्लिंकर खरिद गर्दै आएको छ । जसका कारण भारतबाट आयात गर्नु परिरहेको छ । कम्पनीका लागि कच्चा पदार्थका लागि ठूलो रकम खर्चनु परिरहेको छ ।

अहिले नेपालमा ५० भन्दा बढी सिमेन्ट तथा क्लिंकर उद्योग सञ्चालनमा छन् । नेपालमा सन् २०१७ मा वार्षिक ६१ लाख टन सिमेन्टको माग थियो । जसमध्ये स्वदेशी उत्पादन ८० प्रतिशत थियो ।

मेगा सिमेन्टले मात्रै सन् २०१९ मा २७ हजार २९७ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यद्यपि नेपालमा भइरहेको सिमेन्टको माग अनुसार मेगा सिमेन्टको उत्पादन निकै कम हो ।

सन् २०१८ मा कम्पनीले ३६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सिमेन्ट उद्योग र ट्रेडिङ व्यवसायमा अनुभव भएका मिन प्रकाश मैनाली उद्योगको अध्यक्ष र राजेशकुमार अग्रवाल प्रबन्ध निर्देशक छन् । मैनाली २ दशकदेखि पर्यटन र घरजग्गा व्यवसायमा सक्रिय छन् । उनी कञ्चनजंगा सिमेन्ट उद्योग र धना कन्सलट्यान्सी तथा हाउजिङ कम्पनीका अध्यक्ष तथा पञ्चकन्या हाउजिङका सञ्चालक हुन् ।

कम्पनीका प्रवन्ध निर्देशन अग्रवाल १६ वर्षदेखि उत्पादनमूलक उद्योग र ट्रेडिङ व्यवसायमा संलग्न छन् । उनी कञ्चनजंगा सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक पनि हुन् ।

कम्पनीले बैंकबाट ऋण लिनका लागि हालैमात्र रेटिङ गराएको छ । बैंकहरुले रेटिङ एजेनसीले गरेको रेटिङलाई आधार मानेर ऋण दिन्छन् ।


पुष्प दुलाल