सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो



काठमाडौं । सिमेन्ट उद्योगीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउन छाडेका छन् । लगातार बिक्री घटेर  सिमेन्ट उद्योगीको अवस्था कमजोर भएका कारण बैंकले ऋण पत्याउन छाडेका हुन् ।

केही समयअघि एउटा व्यापारिक समूहले नवलपरासीस्थित एक सिमेन्ट उद्योगको स्वामित्व किन्यो । त्यो समूहले आफ्नो सम्पूर्ण बिजनेश प्लानसहित एउटा विकास बैंकमा कर्जाका लागि आवेदन दियो । सबैकुरा ठीकठाक थियो । बैंक पनि १० करोड रुपैयाँ ऋण दिन तयार भयो । र, बैंक र उक्त सिमेन्ट उद्योगबीच ऋण सम्झौता पनि भयो ।

उक्त उद्योगले बैंकबाट ऋण लिएर उत्पादन बढाउने योजना बनायो । सिमेन्टको बिक्री लगातार खस्किरहेको अवस्थामा पनि उद्योगले बजार विस्तारको रणनीति बनायो । शुरुमा त बैंक उक्त उद्योगको रणनीतिमा सहमत थियो ।

तर, ऋण स्वीकृत गरेको केही समयपछि बैंकका अधिकारीहरुले उद्योगका सञ्चालकलाई बैंकमा बोलाए । र, स्वीकृत भएको ऋण डिस्भर्समेन्ट गर्न नसक्ने जानकारी गराए ।

ती उद्योगीले बैंकका प्रमुख कार्यकारी अधिकृत र कर्जा शाखाका प्रमुखसँग ऋण सम्झौता रद्द नगर्न अनुनय बिनय गरे । तर, बैंकका अधिकारीहरुले उनको रोदनको वास्तै गरेनन् । अन्ततः सम्झौता भइसकेको १० करोड रुपैयाँ बराबरको ऋण रद्द भयो ।

ऋण सम्झौता रद्द भएपछि ती उद्योगी अहिले लगानी योग्य पुँजीको अभावमा ठूलो छटपटीमा परेका छन् ।

सिमेन्ट उद्योगको पछिल्लो अवस्था निकै दयनिय भएकाले स्वीकृत गरिसकेको ऋण पनि रद्द गर्नुपरेको बैंकका अधिकारीहरु बताउँछन् ।

‘हामीले दिएको ऋण जोखिममा पर्ने देख्यौं, त्यसैले सम्झौता भइसकेको ऋण पनि रद्द गर्नु परेको हो,’ उक्त विकास बैंकको कर्जा अधिकृतले क्लिकमाण्डूसँग भने ।

यो घटना दशैंपछिको हो । प्रतिनिधि यो घटनाले पछिल्लो समय सिमेन्ट उद्योगको अवस्था के छ भन्ने प्रष्ट पार्छ ।

केही समयअघिसम्म बैंकहरु आँखा चिम्लेर सिमेन्ट उद्योगलाई ऋण दिन्थे । किनभने सिमेन्टको बिक्री मालामाल थियो । त्यसैले आफूले दिएको ऋण डुब्दैन भन्नेमा बैंकरहरु विश्वस्त थिए ।

पछिल्लो समय सिमेन्टको बिक्री ह्वात्तै घटेको छ । बिक्री घटेसँगै मूल्य पनि घटेको छ । जसकारण अहिले सिमेन्ट उद्योगलाई बैंकहरुले ऋण समेत पत्याउन छाडेका छन् ।

केही ठूला उद्योग र ठूलो व्यापारिक पृष्ठभूमि भएका व्यवसायीलाई बाहेक अहिले बैंकले सिमेन्ट उद्योगका लागि ऋण पत्याउँदैनन् ।

‘हामीले सिमेन्ट उद्योगलाई मायाँ गरेर ऋण दिने होइन, दिएको ऋण डुब्छ कि डुब्दैन भनेर हेर्नुपर्छ,’ बैंक स्रोतले भन्यो, ‘अहिले सिमेन्टमा गरिएको लगानी उच्च जोखिममा छ, त्यसैले ऋण रद्द गर्नुपरेको हो ।’

छोटो समयमै मनग्ये नाफा कमाएको शिवम् सिमेन्टको पछिल्लो वित्तीय विवरणले पनि सबैलाई अत्याएको छ । शिवम् नेपाल स्टक एकसचेञ्जमा सूचिकृत एकमात्र सिमेन्ट उत्पादक कम्पनी हो ।

नेप्सेमा सूचिकृत कम्पनीले प्रत्येक ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मसान्तसम्मको कारोबारको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । उक्त वित्तीय विवरणअनुसार यो ३ महिनाको अवधिमा शिवम् सिमेन्टको नाफा गत आर्थिक वर्षको यसै अवधिकोभन्दा ४६.५१ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको शिवम् सिमेन्टले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड २७ लाख रुपैयाँ नाफा घटेर १९ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा, प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४४ पैसा र प्रतिसेयर मुल्य २८० रुपैयाँ ४५ पैसा रहेको छ ।

पछिल्लो वर्ष सिमेन्ट उद्योगको व्यवसाय कमजोर बन्दै गएको छ । मुलुकमा थप आर्थिक गतिविध बढ्न नसक्दा र पूर्वाधार विकासका कामहरु हुन नसक्दा त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको हो ।


पुष्प दुलाल