माथिल्लो तामाकोशीले बनाउने भयो २२ मेगावाटको रोल्वालिङ



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माणले गति नलिइरहेको बेला अर्को आयोजनाको शुरु गरेको छ ।

आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ जलविद्युत् आयोजनाको काम शुरु गरेको छ । हिँउदमा समेत आयोजनाको क्षमता उस्तै कायम राख्नका लागि सो आयोजना शुरु गरिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाली प्रविधि तथा डिजाइनमा नै सो आयोजना निर्माण गर्ने तयारी थालेको छ ।

आयोजनाको पहुँच मार्ग र अडिट सुरुङ निर्माण गर्न नेपाली कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँगसम्झौता गरेको छ ।

सम्झौतामा माथिल्लो तामाकोशीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ र हाइ हिमालयका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेको आयोजनाले जनाएको छ ।

दोलखाको छो रोल्पा हिमतालबाट निस्केको पानी प्रयोग गरी विद्युत उत्पादन गर्ने गरी आयोजनाको तयारी गरिएको छ । माथिल्लो तामाकोशीको निर्माणाधिन बाँध स्थल लामाबगरको आसपास नै पानी साल्ने लक्ष्य सहति आयोजना शुरु गरिएको हो ।

स्थानीय रिकु र सिमी गाउँमा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युतगृहमा पानी खसाल्ने योजना छ । सो आयोजनाको विस्तृत इन्जिनियरिङ तथा डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरिरह्ेको छ ।

तामाकोसीको जलाशयमा सो आयोजनाको पानी थप हुँदा रोल्वालिङबाट १७ करोड यूनिट विद्युत् थप उत्पादन हुनेछ । आयोजनाको कूल लागत ४ अर्ब रहने जनाइएको छ ।

चालु आवमा नै पूर्वाधार तयार पारी आगामी आवदेखि आयोजना निर्माणमा जाने गरी काम शुरु गरिएको छ । उता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भारतीय ठेकेदारका कारण ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले सोचअनुसार प्रगति गर्न सकेको छैन ।

अष्ट्रियाको एन्ड्रिज हाइड्रोले धमाधम पाइप जडानको काम शुरु गरेपनि भारतीय कम्पनी टेक्सम्याकोले भने अझै काममा गति दिन नसक्दा आयोजना तोकिएको समयमा पूरा हुनेमा आशंका थपिएको छ । हाल आयोजनाको भौतिक प्रगति ९८.५ प्रतिशत पुगेको छ ।


पुष्प दुलाल