नबिललाई टक्कर दिन आइपुग्यो एनआईसी एशिया बैंक



काठमाडौं । केही समय अगाडि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो प्रतिस्पर्धा एनआईसी एशिया बैंकसँग हुने बताएको कुरा एकाएक सार्वजनिक भयो ।

एउटा कार्यक्रममा संचारकर्मीसँग शाहले नबिलको प्रतिस्पर्धा एनआईसीसँग हुने बताएका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरणले नबिल बैंकलाई अब एनआईसी एशिया बैंकले टक्कर दिने देखिएको छ ।

दोस्रो बजारमा नबिल बैंक सबैभन्दा बढी सेयर मूल्य भएको बैंक हो । एनआईसी एशियाको सेयर मूल्य ४१८ रुर्पैयाँ छ भने नबिल बैंकको ७५५ रुपैयाँ रहेको छ ।

नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)

पहिलो त्रैमासमा १ अर्बभन्दा बढी नाफा गर्ने बैंकहरुमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक,नबिल बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

गत आर्थिक वर्षमा नाफाको आधारमा पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक थियो भने दोस्रो स्थानमा नबिल बैंक थियो । पाँचौं स्थानमा रहेको एनआईसी एशिया बैंक तेस्रो स्थानमा रहेको छ ।

असोज मसान्तमा नबिल बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ भने एनआईसी एशिया बैंकले १ अर्ब रुपैयाँ नाफा गरेको छ ।

पछिल्लो वर्षमा आक्रामक रुपमा शाखा विस्तार गरेको एनआईसी एशियासँग अहिले २७७ वटा शाखा रहेको छ । नबिल बैंकसँग ९२ वटा शाखा रहेको छ ।

पहिलो त्रैमासको रिपोर्ट अनुसार एनआईसी एशिया बैंकसँग १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा भने १ खर्ब ६२ अर्ब रुपैयाँ छ ।

निक्षेपको आधारमा एनआईसी एशिया दोस्रो स्थानमा रहेको छ भने कर्जाको आधारमा एनआईसी एशिया पहिलो स्थानमा रहेको छ ।

नबिल बैंकसँग असोज मसान्तसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब ४१ अर्ब रुपैयाँ छ । निक्षेप र कर्जाको आधारमा नबिल तेस्रो स्थानमा रहेको छ ।

ब्याज आम्दानीमा एनआईसी एशिया पहिलो भएपनि ब्याज खर्च पनि एनआईसी एशियाको बढी भएको हुँदा खुद ब्याज आम्दानी एनआईसीको भन्दा नबिलको बढी छ ।

नन फण्डिङ तर्फको आम्दानीमा एनआईसी एशिया अगाडि रहेको छ । ट्रेडिङ इनकममा नबिलभन्दा इनआईसी एशिया पछाडि रहेको छ ।

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

शाखा संख्या नबिलको भन्दा दुई गुणा बढी भएको हुँदा नबिलभन्दा एनआईसीको कर्मचारी खर्च र संचालन खर्च भने बढी छ । पूँजीकोष अनुपातमा नबिलको भन्दा एनआईसी एशिया कम छ ।

खुद नाफाको तुलनामा सेयरधनीलाई बाड्न मिल्ने नाफामा भने नबिल र एनआईसी एशियाको ग्याप बढी छ । पहिलो त्रैमासको कारोबारमा नबिलले सेयरधनीलाई बाड्न मिल्ने नाफा ७४ करोड २२ लाख गरेको छ भने एनआईसी एशियाले ४४ करोड ८४ लाख रुपैयाँ गरेको छ ।

खराब कर्जा अनुपात(एनपिएल) भने एनआईसी एशियाको भन्दा नबिल बैंकको बढी रहेको छ । एनआईसी एशियाको खराब कर्जा अनुपात ०.४५ प्रतिशत छ भने नबिल बैंकको ०.६५ प्रतिशत रहेको छ ।

अहिलेको अवस्थामा ऋण दिन सक्ने स्पेश भने नबिलसँग बढी देखिन्छ । असोज मसान्तको तथ्यांक अनुसार नबिल बैंकको कर्जा निक्षेप अनुपात ७४.०९ प्रतिशत रहेको छ भने एनआईसी एशिया बैंकको ७८.३५ प्रतिशत रहेको छ ।

ऋणको न्यूनतम ब्याजदर नबिलको कम छ । नबिलको न्यूनतम बेसरेट ७.९४ प्रतिशत रहेको छ भने एनआईसी एशिया बैंकको ९.५१ प्रतिशत रहेको छ ।

रिर्टन अन इक्विटीमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि छ । एनआईसीको २९.०२ प्रतिशतले आरओई रहेको छ भने नबिल बैंकको १९.३५ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानीमा नबिल बैंकको ४८.९३ र एनआईसी एशिया बैंकको ४०.७८ रहेको छ ।


क्लिकमान्डु