बजारमा १०० रुपैयाँदेखि २५ हजारसम्मका झिलिमिली बत्ति, सीएफएल गोदाममा थन्किए



काठमाडौं । तिहारको रमझम सुरु भइसकेको छ । बजारमा तिहारका लागि झिलिमिली बत्ति किन्ने ग्राहकहरुको भीड बाक्लिन थालिको छ ।

उपभोक्ताहरुको आकर्षण र गुणस्तरलाई मध्यनजर गर्दै इलेक्ट्रिक व्यापारीले न्यूनतम १०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म मूल्य पर्ने झिलिमिली बत्ति बजारमा आएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रमेश देवकोटाले क्लिकमाण्डुलाई बताए ।

हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट बिक्रीमा छन् । नेपालमा २ वर्ष अगाडि मात्र एलईडी लाइट भित्रिएका हुन् । त्योभन्दा अगाडि सीएफएल तथा रंगिन विभिन्न भोल्टका लाइट प्रयोग गरिन्थ्यो ।

अन्य प्रकारका लाइटभन्दा एलईडी लाइट गुणस्तरीय तथा टिकाउ भएको हुँदा पनि यसले इलेक्ट्रिक बजार ओगटेको महासंघका उपाध्यक्ष देवकोटाको भनाइ छ ।

‘लिड जडिट लाइट नेपालमा बिक्री गर्न थालेपछि सीएफएल लाइट र डिएलएस लाइटको आयात नगन्यरुपमा भएको छ’, उनले भने ‘आजभोलि त्यस्ता लाइटहरु कुखुराको फार्महरुमा मात्र प्रयोग गरिन्छ ।’

आयात गरिएका सीएफएल लाइट १ वर्ष अगाडिदेखि बिक्री नभएर व्यापारीका गोदाममै थन्किएको देवकोटाले बताए । बजारमा लिड जडित झिलिमिली माला लाइटको माग अत्यधिक छ ।

१०० लिट भएका १० मिटरसम्म लम्बाइ भएका बत्तिका सेटहरु १०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म बिक्री भए पनि सबैभन्दा बढी १५० देखि ३०० रुपैयाँका बत्तिका सेटको माग बढी भएको व्यापारीहरु बताउँछन् ।

नेपालमा प्रयोग गरिने लाइटहरु चीन र भारतबाट आयात गरिन्छ ।

यो वर्ष पनि तिहार लक्षित गरी करिब ६० करोड रुपैयाँ बराबरका बत्ति आयात गरिएका छन् । आयातित बत्तिमा ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात गरिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघ जनाएको छ ।

भारतबाट भन्दा चीनबाट आयात गरिएका बत्तिहरुको गुणस्तर राम्रो र आर्कषक हुने हुँदा चीनमा निर्मित बत्तिको माग बजारमा बढी भएको र सोहीअनुसार आयात गरिएको देवकोटाको भनाइ छ ।

गत वर्षको तुलनामा बत्तिको आयात भने घटेको छ । गत वर्ष तिहारका लागि नै भनेर ७० करोड रुपैयाँभन्दा बढीको बत्तीहरु आयात गरिएको थियो ।

लिड जडित एलइडी लाइट धेरै वर्ष प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढेको हो । यी लाइटहरु आफैँ निभ्दै, बल्दै गर्ने भएकाले ग्राहकले यसलाई तिहारको सजावट मुख्य सामानका लिएको पाइन्छ ।

साथै यी बत्ति एकपटक प्रयोग गरिसकेपछि झिकेर राखी अर्को पटक प्रयोग गर्न सकिन्छ । एलईडी लाइट गुणस्तरीय तथा टिकाउ भएकोले पनि गत वर्ष तिहारमा भन्दा १० करोड रुपैयाँको आयात कम भएको हो ।

नेपालमा वर्षेनी ८० अर्ब रुपैयाँभन्दा बढीको इलेक्ट्रिक बत्तीहरुको कारोबार हुने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा नै १५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरका २ अर्ब ३९ करोड ७८ लाख पिसभन्दा बढी बत्ती चीन, भारत र अन्य मुलुकहरुबाट आयात भएका छन् ।

जसमा १५ करोड २० लाख ३७ हजार रुपैयाँका एलइडी लाइट र ४३ लाख १९ हजार रुपैयाँका अन्य लाइट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

आयातित लाइटमा चीनबाट १३ करोड ८ लाख ५८ हजार रुपैयाँ बराबरका १ अर्ब ९७ करोड १९ लाख ९१ हजार थान, भारतबाट २ करोड ११ लाख ५१ हजार रुपैयाँ बराबरका ३१ करोड ३० लाख ६५ हजार पिस र अमेरिकाबाट २८ हजार रुपैयाँ बराबरको ७० पिस एलईडी लाइट आयात भएको हो ।

त्यस्तै, अन्य सामान्य लाइटमा चीनबाट ८६ हजार रुपैयाँको २९ लाख ३० हजार पिस, भारतबाट ३३ लाख ३० हजार रुपैयाँको ११ करोड ९ लाख ६ हजार पिस र साउथ कोरियाबाट ४ हजार रुपैयाँ बराबरको ६ पिस लाइट आयात भएको छ ।


पुष्प दुलाल