४ उद्योगीलाई अदालतको झड्का, ५२ करोड बिजुलीको महशुल तिर्न आदेश



काठमाडौँ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलाशले बुधबार ४ उद्योगीको विपक्षमा फैसला सुनाएको छ । ट्रङ्क लाइनबाट लिएको विद्युत् महसुल बढी भएको र प्राधिकरणले गैरकानूनी रुपमा आफूहरुलाई महसुल लगाएको भन्दै उद्योगी अदालत गएका थिए ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलाशका न्यायाधीशद्वय नारायणप्रसाद पोखरेल र हरिप्रसाद पौडेललको संयुक्त इजलाशले ४ उद्योगको विपक्षमा फैसला सुनाएको हो ।

बुधबार सर्वोत्तम सिमेन्ट प्रालि, लक्ष्मी स्टिल प्राली, बुटवल सिमेन्ट र पाल्पा सिमेन्ट इन्डस्ट्रिज प्रालिको रिट निवेदन खारेज गरिदिएको हो । उनीहरुले ५२ करोड रुपैयाँ बराबरको महशुल प्राधिकरणलाई तिर्नुपर्ने भएको छ ।

उक्त इजलाशका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल र बुटवल सिमेन्टले गत वैशाख १७ गते रिट दायर गरेका थिए भने पाल्पा सिमेन्टले गत जेठ २९ गते रिट दायर गरेको थियो ।

प्राधिकरणले तय गरेको महसुल कानून सम्मत नभएको र आफूहरु अन्यायमा परेको भन्दै उद्योगी अदालत गएका थिए । अदालतले प्राधिकरणको पक्षमा फैसला सुनाउँदै महसुल तिर्नुपर्ने निर्णय गरेको हो ।


पुष्प दुलाल