क्रेडिट रेटिङ र अन्डर राइटरको व्यवस्था हटाउन निजी ऊर्जा उद्यमीको माग



काठमाडौं । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्दै आएका निजी क्षेत्रले आफूहरुले गरेको लगानी संकटमा परेको भन्दै १५ वर्षसम्म रोयल्टी मिनाहाको माग गरेका छन् ।

उनीहरुले आफूहरुले निर्माण गरेका आयोजनाको अवस्था दुरुहपूर्ण रहेको भन्दै सरकारसँग समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्दै आएका छन् । सोही क्रममा रोयल्टी मिनाहाको माग समेत अगाडि बढाइएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ३२ वटा जलविद्युत् कम्पनी मध्ये १८ वटाको सेयर मूल्य आधारभूत मूल्य भन्दा तल पुगेको छ । यस्तै, केही आयोजनामा उत्पादन भएको विद्युत् प्रसारण लाइनको अभावमा खेर समेत गइरहेको छ । प्रसारण लाइनको क्षमता कम भएका कारण पनि केही आयोजनाले थप समस्या व्योहो्दै आएको छ ।

यस्तै हाइड्रोलोजीका कारण पनि थप जटिलता देखिएको उनीहरुको भनाइ छ । निजी क्षेत्रले स्वदेशी तथा विदेशी लगानीका आयोजनाका विद्युत् खरीद बिक्री तथा अनुमति पत्रमा भएका असमानता समेत हटाउन माग गरेका छन् ।

विदेशी लगानीकर्तालाई अमेरिकी डलरमा विद्युत् खरीद सम्झौता गर्न तयार रहने प्राधिकरणले निजी क्षेत्रलाई भने १० वर्ष पहिलको मूल्यमा नै विद्युत् खरीद गरेको उनीहरुको भनाइ छ ।

यस्तै निजी प्रवद्र्धकले आयोजनाको साधारण सेयर बिक्री गर्दा ५ भन्दा कम क्रेडिट रेटिङ र अन्डर राइटिङको व्यवस्था हटाउन माग गरेका छन् । त्यसले समेत आफूहरुलाई समस्यामा पारेको उनीहरुको भनाइ छ ।

यस्तै विद्युत् खरीद सम्झौतामा भएको भन्दा बढी विद्युत् उत्पादन भएको अवस्थामा बढी विद्युत समेत सहजरुपमा लिने व्यवस्था गर्न माग गरेका छन् ।

विद्युत् कम भएको अवस्थामा हर्जना तिर्नुपर्ने तर बढी भएको अवस्थामा भने विद्युतखेर फाल्नुपर्ने वा लिएको विद्युत्को समेत मूल्य नपाइएको उनीहरुको गुनासो छ ।


पुष्प दुलाल