नलसिंहगाडमा लगानी जुटाउन कुलमानलाई लिएर जापान उँडे ऊर्जा मन्त्री पुन



काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन जापान भ्रमणमा लागेका छन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार राती २ बजे जापान उडेका हुन् ।

उर्जामन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सोमबार राति जापानको ओसाका जाने कार्यक्रम छ ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषी तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्रमन्त्रालयका उच्च अधिकारीका साथै नेपाल-जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्षसहतिका पदाधिकारीसँंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र लगानीबारे समेत जापानी लगानीकर्तासंग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साईलगायतका विश्वप्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोवास गरिरहेका नेपाली समुदायसंग समेत समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाइकाका उपाध्यक्षसँगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नुहुनेछ । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण उक्त परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापान भ्रमणमा जान लाग्नुभएको मन्त्री पुनका स्वकिय सचिव दुर्गा चापांगाईले जानकारी दिए ।

मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसंगको नलसिङगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।


पुष्प दुलाल