युवालाई कृषिमा आकर्षित गर्न सरकारले ल्यायो यस्तो योजना



काठमाडौं । कृषि पेशालाई मर्यादित बनाउने लक्ष्यका साथ सरकारले युवालाई केन्द्रमा राखेर नीति तय गरेको छ । कृषि क्षेत्रबाट युवा पलायनलाई न्यूनीकरण गर्न बनेको कृषिमा युवा कार्यविधि अन्तिम चरणमा पुगेको छ ।

कृषि पेशालाई मर्यादित एवं व्यवस्थित गर्न एकीकृत रूपमा पूँजी र प्रक्रिया प्रवाह गरी युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी स्वरोजगार प्रवद्र्धन मार्फत ग्रामिण एवं कृषि क्षेत्रबाट युवा पलायनलाई न्यूनीकरण गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुरयाउने लक्ष्य राखिएको छ ।

सरकारले सो कार्यक्रमको नाम ‘कृषिमा युवा कार्यक्रम संचालन प्रक्रिया, २०७६’ अघि बढाएको छ । कार्यक्रम संचालनमा समन्वय एवं आवश्यक निर्देशन दिन एक निर्देशक समिति गठन गरिने भएको छ ।

समितिमा मन्त्रालयका सचिव अध्यक्ष रहनेछन् । यस्तै नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव सदस्य रहने व्यवस्था गरिएको छ ।

बजेट तथा कार्यक्रम महाशाखा, अर्थ मन्त्रालय , राष्ट्रिय योजना आयो , राष्ट्रिय किसान आयोग, कृषि विभाग, पशुसेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सदस्यरहने व्यवस्था छ ।

निर्देशक समितिले अनुदान वितरणको प्रभावकारिता र अन्य नीतिगत विषयहरुमा आवश्यक निर्णय गर्ने, संचालन प्रक्रियामा संशोधन गर्नु पर्ने भएमा संशोधनका लागि सिफारिस गर्ने, कार्यक्रम संचालन तथा अनुदान प्रवाह सम्बन्धमा आइ परेका समस्याहरुको समाधान गर्न निर्देशन दिने, कार्यक्रम संचालन सम्बन्धमा अनुदान ग्राहीबाट प्राप्त गुनासोको अन्तिम टुंगो लगाउने, कार्यक्रम कार्यान्वयनका सम्वन्धमा आवश्यक मार्ग दर्शन प्रदान गर्ने गरी योजना तय गरिएको छ ।

यस्तै, फिल्डस्तरमा कार्यक्रम कार्यान्वयनको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्न कार्यक्रम सन्चालन हुने जिल्लामा फिल्ड समन्वय इकाईको व्यवस्था गरिने छ ।

जिल्लामा फिल्ड समन्वय इकाईको लागि क्रमशः मन्त्रालय अन्तर्गतका फार्म केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका सम्बन्धित जिल्लास्थित परियोजना कार्यान्वयन इकाईलाई तोकिनेछ ।


पुष्प दुलाल