सरकारी कर्मचारीले स्वदेशी कपडा लगाउनुपर्ने नियम बनाउँदैछौंः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गर्दा बाध्यकारी बनाइने बताएका छन् ।

खतिवडाले अस्पताल, सुरक्षाकर्मी, निजामति कर्मचारीलगायतले लगाउने पोशाकको लागि स्वदेशी उत्पादनको प्रयोग गर्नका लागि सार्वजनिक खरिद ऐनमै बाध्यकारी व्यवस्थान गरिने बताएका हुन् ।

बिहीबार यार्न एण्ड टेक्सटाइल एक्सपो– २०१९ को उद्घाटन गर्दैै मन्त्री खतिवडाले सरकारले पनि स्वदेशी बनौं भन्ने नीति नै लिएको बताए ।

अहिले मुलुकबाट सबैभन्दा बढी निर्यात धागो भएको भन्दै धागोमा आत्मनिर्भर भएको बताए । उनले सरकारले नै बजेटमा खाद्यान्न, उर्जा, औषधीमा हामी आत्मनिर्भर हुने घोषणा गरेको बताए ।

‘आत्मनिर्भर हुनु भनेको आयातका बन्देज गरेर हुँदैन, उपभोक्ताको हित, मुलुकको लागत बढाएर पनि हुँदैन, आत्मनिर्भर प्रतिष्पर्धात्मकका आधारमा हुने हो । गुणस्तरीय वस्तु उत्पादन गरेर, त्यस्ता वस्तु उपभोग गरेर हुने हो,’ उनले भने ।

त्यसैले आत्मनिर्भरताका लागि उत्कृष्टता, कुशलता, लागत प्रभावकारिता हाम्रा पूर्वशर्त हुन्छन् ।

‘हामी २०औं शताब्दीमा फर्कन सक्दैनौं, २१औं शताब्दीमा छौं । त्यसो हुनाले आफू सुहाउँदो, रहनसहन र खानपान सबै कुराहरु गर्नुपर्ने हुन्छ,’ उनले भने- ‘त्यसका लागि हामीले प्रतिष्पर्धी ढंगले चलाउन सक्नुपर्छ । त्यसका लागि व्यवसायीहरुमा उद्यमशिलता चाहियो, अनुसन्धान चाहिन्छ ।’


पुष्प दुलाल