कुलमानलाई उपभोक्ताको प्रश्नः एकाध मिनेट किन काटिरहेको छ बिजुली ?



काठमाडौं । देशभर नै लोडसेडिङको अन्त्य भएको लामो समय नै भयो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएर आएपछि उनले माग र आपूर्तिको बीचमा राम्ररी सन्तुलन कायम गरेर माग व्यवस्थापन गर्दै लोडसेडिङको अन्त्य गरे ।

कुलमानको सोही कामलाई लिएर धेरैले त्यसलाई राम्रो माने र नेपालको हिरोको रुपमा कुलमानलाई धेरै स्थानमा सम्मान पनि दिए । धेरै रुग्ण भएका आयोजनासमेत कुलमानको निरन्तरको मेहनतपछि सफल भए ।

कुैबेला ३२ अर्ब रुपैयाँको हाराहारीमा सञ्चित घाटा पुगेको प्राधिकरणलाई कुलमानले घाटा क्रमशः घटाएर उच्च दरमा नाफा समेत गरेका छन् ।

तर लोडसेडिङ अन्तय भएपछि राजधानी काठमाडौं तथा प्रमुख शहरी क्षेत्रमा पछिल्लो दिनमा अघोषितरुपमा विद्युत् काटिने गरेको छ । निरन्तर आइरहेको विद्युत् एकाएक काटिँदा त्यसले जनजीवनमा मात्रै नभइ औद्योगिक प्रतिष्ठान तथा अन्य क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्न जान्छ ।

प्राधिकरणले भने त्यसलाई लोडसेडिङ भनेको छैन । सामान्य रुपमा प्रणाली परिवर्तन गर्दा वा स्वीचिङ गर्दा एकाध समयमा विद्युत् काटिने कुरालाई अन्यथा मान्न नसकिने प्राधिकरणको भनाइ छ । प्राधिकरणको काँधमा विशेष गरी गुणस्तरीय विद्युत् पुर्याउने दायित्व आएको छ ।

सहज र सरल प्रविधिको प्रयोग गरेर विश्वसनीय विद्युत् उपलब्ध गराउन प्राधिकरणले कदम पनि चालिरहेको छ । यसले प्रसारण लाइन, ट्रान्सफर्मर तथा अन्य वितरण प्रणालीको सुधारमा समेत ध्यान दिएको जनाएको छ । तर अनियमितरुपमा दैनिक रुपमा नै एक दर्जन पटक विद्युत् काटिदा भने के भएको हो ? किन यस्तो भइरहेको छ ? प्रणालीमा नै खराबी पैदा भयो कि भन्ने जस्ता गुनासा पनि आउने गरेका छन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले भने स्वीचिङ प्रणालीमा फरबदल गर्दा एकाध मिनेट बत्ता काटिने गरेको स्वीकार गरेको छ । यसले त्यसते समस्या समाधानका लागि सबै प्रसारण प्रणालीलाई सिंक्रोनाइज गर्ने काम भइरहेको र केही काम भने अझै जारी रहेको जनाएको छ ।

त्यसो त भारत र नेपालको विद्युत् प्रसारण प्रणालीलाई समेत सिक्रोनाइज गर्नुपर्ने आवश्यकता देखिएपछि त्यसमा समेत काम भइरहेको छ । त्यस्तै कहिले काही भोल्टेजका कारण पनि सामान्य रुपमा एकाध मिनेट विद्युत् प्रवाह अवरुद्ध हुने गरेको छ । प्रसारण प्रणालीलाई एकीकृत र व्यवस्थित बनाउन सके अघोषितरुपमा एकाध मिनेट काटिने विद्युत्मा समेत सुधार आउने प्राधिकरणको बुझाइ छ ।

लाइन किन काटियो ? के भइरहेको छ भनेर उपभोक्ताले प्राधिकरणको स्थानीय वितरण केन्द्रमा समेत सम्पर्क गर्ने गरेका छन् । त्यसो त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिकरुपमा मिलाउँदा एकाध मिनेट लाइन काटिनु सामान्य भएकाले त्यसलाई लोडसेडिङ नभन्न यसअघि नै पटक–पटक आग्रह गरिसकेका छन् ।

नियमित आइरहेको विद्युत् काटिदा त्यसबाट पर्ने प्रभाव भने नकारात्मक पर्ने भन्दै समस्या समाधान गर्न र दैनिकरुपमा एकाध मिनेटका दरले दर्जनौ पटक कााटिने विद्युत्मा सुधारको जरुरी रहेको समेत उपभोक्ताको भनाइ छ ।

प्राधिकरणले भने सामान्य रुपमा आउने प्राविधिक समस्याका कारण पनि केही समस्या आएको भन्दै आफूहरु कहाँ गुनासो आएकाले त्यसलाई समाधानमा लागिपरेको प्रष्टोक्ति दिँदै आएको छ ।


पुष्प दुलाल