सबै परिक्षण भएर पनि किन रोकिएको छ कुलेखानी तेस्रोको विद्युत् उत्पादन ?



काठमाडौं । सँधै विवादको भूमरीमा पर्दै आएको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन भइसक्नुपर्ने थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असाध्यै धेरै चासो दिए पनि आयोजनाबटा विद्युत् कहिले उत्पादन शुरु हुन्छ भनेर भनीहाल्ने अवस्था अझै छैन ।

प्राधिकरणले यसै महिनाको शुरुमा विद्युत् उत्पादन गर्न सकिन्छ कि भनेर तय गरेको समयसीमा समेत पूरा भइसकेको छ । तर विद्युत् उत्पादनको मिति भने यही दिनबाट हुन्छ भनेर भनीहाल्ने अवस्था छैन ।

चिनियाँ निर्माण व्यवसायीको आपरवाहीका कारण कार्यकारी निर्देशक कुलमान घिसिङले जतिसुकै बल गर्दा पनि आयोजना सम्पन्न भइहाल्ने अवस्थामा पुगेको छैन ।

आयोजना निर्माण शुरु भएको १० वर्ष पूरा भएको छ । प्राधिकरणले गत जेठमा नै आयोजनाको संरचना र उपकरणको परीक्षण शुरु हुने जनाएको थियो । केही संरचनाको परिक्षण पनि भएको हो । तर विद्युत् उत्पादन कहिले देखि शुरु होला त भन्ने प्रश्नमा आयोजनाका एक उच्च अधिकारी भन्छन्– ‘ठेकेदारले बदमासीमाथि बदमासी गरिरहेको छ । एकाध दिनमा आउँछौ, त भनेको छ हेरौ, छिट्टै शुरु होला कि ?’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत वैशाख २८ गते शनिबार आयोजना स्थल पुगेर आयोजनाको १५ दिन भित्रै सबै परिक्षण सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यसपछि पनि घिसिङ आयोजना स्थलमा पुगेर कामको प्रगतिका बारेमा जानकारी लिएका थिए । तर भदौ बित्न लाग्दा समेत आयोजनामा प्रगति हुन सकेको छैन ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ ।

‘विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करिब करिब सम्पन्न भइसकेको छ, अहिले उपकरणहरुको ड्राई टेष्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरणहरुको परीक्षण भइसकेको छ । ‘जतिसक्दो छिट्टो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं ।’

आयोजनाको निर्माण चालु आर्थि वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको घिसिङले प्रतिक्रिया दिएका थिए ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का टोडी कालोसूचीमा राख्ने चेतावनी समेत दिएका थिए । सोही चेतावनी पछि आयोजनाले केही समय गति लिएपनि पुनः समसय देखिएको छ ।

‘अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु’, उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई चेतावनी दिएका थिए ।

उनले भनेका थिए ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अवरोध के हुन सक्छ ?’

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।

प्रसारण लाइनको तीन वटै टावरको निर्माण सकिएको छ । केही मिटर तार तान्न समेत बाँकी रहेको बताइन्छ ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो ।

आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।


पुष्प दुलाल