हातहातमा यातायात, बढ्दैछन् कम्पनी र प्रयोगकर्ता



काठमाडौं । सन् २००९ मा अमेरिकाको शहरमा ‘उबर’ नाममा ट्याक्सी सेवा सञ्चालनमा आयो । प्रविधिको सहारामा सुरु भएको यो स्टार्टअप विजनेशले ट्याक्सी सेवामा क्रान्ति नै ल्याइदियो ।

अमेरिकाबाट सुरु भएको यो मोडेलको व्यवसाय अहिले विश्वका ८३ भन्दा बढी देशमा ६३३ वटा सहरमा सेवा दिइरहेको छ । जसको प्रभाव नेपालका सहरमा पनि देखिएको छ ।

उबर जस्तै सर्भिस नेपाली सडकमा पनि देख्न सकिन्छ । र, यसको प्रभाव बढ्दै गएको छ ।

अमेरिकामा सुरु हुँदा यातायातको क्षेत्रमा यो विल्कुलै नयाँपन थियो । यातायातको क्षेत्रमा भएको नयाँ प्रयोगले प्रयोगकर्तालाई सहज बनाइदियो । समय बचत हुने भयो र सहज पनि हुने भयो । जसलाई सबैले रुचाए ।

यसको प्रभाव पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । यद्यपि यो सेवा अहिले राजधानीमा मात्रै सीमित छ । यसरी हेर्दा ‘उबर’को मोडेलमा विभिन्न कम्पनीका सेवाहरु सुरु भइसकेका छन् ।

नेपालमा यस्ता सेवा ट्याक्सीमा मात्रै सीमित नभई मोटरबाइकमा पनि उत्तिकै लोकप्रिय छन् ।

मोटरबाइकका लागि पठाओ र टुटल जस्ता कम्पनीले सेवा दिइरहेका छन् भने ट्याक्सी सेवाका लागि इजी ट्याक्सी, ओनभर, सारथी, इडीक्याब र पठाओ समेत कम्पनी छन् ।

मोबाइलको एप तथा र फोनमार्फत ट्याक्सी बुक गर्ने र तोकिएको शुल्क बुझाउने सविधाले एकातिर ग्राहकलाई ट्याक्सी खोज्ने र मोलमोलाइ गर्ने झण्झट हेटेको छ भने अर्कोतिर रोजगारी पनि सिर्जना भएको छ ।

जसमा पठाओ सबैभन्दा अगाडि देखिएको छ । बजारमा आक्रमक देखिएको पठाओ टुटलभन्दा निकै अगाडि बढिसकेको छ ।

किन त ? टुटलका सञ्चालक शिक्षित भट्ट भन्छन्, ‘हाम्रोमा नीति नै छैन, पठाओ बंगलादेशी कम्पनी भएकाले नेपालमा आएर काम गर्न सजिलो भयो, त्यो सुविधा हामीलाई भएन ।’

तर समान बजारमा प्रतिष्पर्धा गर्नका लागि टुटल पठाओको तुलनामा कमजोर देखिएको छ । प्रयोगकर्ताहरु टुटलको एप्लिकेसनको तुलनामा पठाओको एप सहज र प्रभावकारी भएको बताउँछन् ।

दुबै कम्पनीको दाबीलाई हेर्ने हो भने टुटलको तुलनामा पठाओ दैनिक राइडको संख्यामा तीन गुणा अगाडि देखिएको छ ।

पठाओ

एक वर्ष अगाडि सुरु भएको यो कम्पनी बंगलादेशी कम्पनी हो । जसको विस्तार नेपाली सडकसम्म आइपुगेको छ ।

यस प्रकारको व्यवसायमा नेपाली बजारमा पठाओ सबैभन्दा अगाडि छ । सुरुमा मोटरसाइकलबाट सेवा दिन सुरु गरेको यो कम्पनीले अहिले ‘कार लाइट’ नाममा ट्याक्सीमा समेत सेवा विस्तार गरिसकेको छ ।

कम्पनीका अनुसार अहिले यो सेवामा ४० हजार राइडरहरु जोडिएका छन् । हालसम्म ५ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको पठाओ मोबाइल एपमार्फत दैनिक १५ हजार पटक सेवा लिइरहेका छन् ।

यो कम्पनीले मोटरसाइकलको हकमा सुरुमा ३० रुपैयाँ बेस रेट र प्रतिकिलोमिटर १५ रुपैयाँ शुल्क लिन्छ । जसमा कम्तीमा ४५ रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, ट्याक्सीको हकमा भने १०० रुपैयाँ सर्भिस चार्ज लिन्छ भने प्रतिकिलोमिटर ३९ रुपैयाँ शुल्क लाग्छ ।

साथै अन्य विभिन्न शुल्कका नाममा प्रति मिनेट १ रुपैयाँ तोकिएको छ । पठाओको ट्याक्सीबाट सेवा लिँदा कम्तीमा १५० रुपैयाँ शुल्क लाग्छ ।

कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सर्भिस चार्जको १ सय रुपैयाँमा ट्याक्सीको सुरुको मिटर अन गर्दाको १४ रुपैयाँ, ३ किलोमिटरको दूरीसम्मका ग्राहकलाई लिन जाँदाको अतिरिक्त इन्धन र खर्च वापतको रकम पनि जोडिएको छ ।

साथै फोनकल तथा निरन्तर अनलाइन बसी कार्य गर्नुपर्ने भएमा आवश्यक इन्टरनेटको खर्च पनि उक्त रकममा समावेश गरिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार अहिलेसम्म ६ सय ट्याक्सी कम्पनीमा जोडिएर सेवा दिइरहेका छन् ।

टुटल
पठाओसँगै सुरु भएको टुटलले अहिले मोटरबाइकबाट मात्रै सेवा दिइरहेको छ । कम्पनीले टुटल नामक मोबाइल एपमार्फत सेवा दिइरहेको छ । कम्पनीले लिने शुल्क भने पठाओको भन्दा केही फरक छ ।

टुटलले पहिलो ३ किलोमिटरका लागि ६० रुपैयाँ शुल्क निर्धारण गरेको छ । ३ किलोमिटरभन्दा बढी भएमा ६ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रुपैयाँ तोकेको छ । साथै ६ किलोमिटरभन्दा बढी दूरी भएको अवस्थामा कम्पनीले प्रतिकिलोमिटर २५ रुपैयाँका दरले शुल्क लिन्छ ।

टुटलको मोबाइल एप अहिलेसम्म २ लाखपटक डाउनलोड भएको सञ्चालक शिक्षिक भट्ट बताउँछन् । २५ हजारको हाराहारीमा राइडर भएको टुटलमा दैनिक ४ देखि ५ हजार राइड हुन्छ ।

सारथी
सारथी सेवा सूचना प्रविधिका विद्यार्थीहरु रवि सिंघल र प्रकाश न्यापानेले सुरु गरेका हुन् । ट्याक्सीलाई सरकारले तोकेको मिटरमै सेवा उपलब्ध गराइरहेको सारथीले कार ट्याक्सीबाट मात्रै सेवा दिइरहेको छ ।

ओनभर
चार वर्ष अगाडि सुरु भएको ओनभर सफट्वेयर कम्पनी हो । जसले अहिलेसम्म मोबाइल एप त बनाएको छैन तर फोन सम्पर्कमार्फत भने सेवा दिँदै आएको छ । कम्पनीमा म्यानेजर सन्तोष कर्णका अनुसार कम्पनीले सरकारले तोकेको दर मै ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीसँग अहिले ७० वटा जति ट्याक्सी सम्पर्कमा छन भने दैनिक ३० देखि ४० वटा राइड सेवा दिँदै आएको छ ।

 

नीतिगत समस्या

पठाओले ट्याक्सी सेवा सुरु गरेर १ सय रुपैयाँ बढी शुल्क लिएसँगै यसले विवाद सिर्जना गरेको छ । यसबारेमा पठाओले स्पिष्टकरण दिइसके पनि यसको विवाद भने अझै साम्य भइसकेको छैन् ।

टुटलका सञ्चालक शिक्षित भट्ट सरकारले नीतिगत रुपमा स्पष्ट नहुँदा व्यवसाय सञ्चालन गर्नका लागि अप्ठ्यारो भएको बताउँछन् । यस्ता स्टार्टअप व्यवसाय सञ्चालनका लागि सरकारले पनि नीतिगत तहबाटै स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पठाओले पनि कार लाइट सेवा अन्तर्गत भाडाका ट्याक्सी प्रयोग गर्दा १०० रुपैयाँ बढी लिने विषय पनि नीतिगत रुपमा स्पष्ट व्यवस्था नभएको भन्दै आलोचना भएको छ । यद्यपि, पठाओले भने यसबारेमा नीति बन्नुपर्ने बताइसकेको छ । पठाओले आफूले विभिन्न शीर्षकमा १०० रुपैयाँ लिएको स्पष्टिकरण दिइसकेको छ ।

तर, हालसम्म पनि शुल्क तोक्ने विषयमा नीति नहुँदा यस्ता व्यवसायमा समस्या यथावत नै छ ।


पुष्प दुलाल