एसपी दानबहादुर र पत्रकार किशोर श्रेष्ठविरुद्ध रवि लामिछानेकी श्रीमतिको उजुरी प्रहरीले दर्ता गरेन



काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमति निकिता पौडेलले ३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

पौडेलले चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका संकेत कोइरालाले किर्ते गरेर भिडियो सार्वजनिक गरेको दाबी गर्दै पौडेलले  तीनजनाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बुधबार दिउँसो साढे १ बजे किटानी जाहेरी दिन पुगेकी थिइन् ।

रवि लामिछानेकी श्रीमतिले दानबहादुर मल्ल र किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी दिइन्

तर, प्रहरीले उक्त पौडेलको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरीले उक्त विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र प्रहरीबाटै अनुसन्धान भइरहेका तर्क गर्दै किटानी जाहेरी लिन अस्वीकार गरेको हो ।

चितवनको एक होटेलमा सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा  भिडियो खिचेका थिए । भिडियोमा रवि लामिछानेसहित ३ जनाले आफूलाई आत्महत्या गर्न दुरुत्साहन गरेको बताएका थिए । त्यही आधारमा प्रहरीले रविसहित ३ जनालाई पक्राउ गरेको थियो ।

रविकि श्रीमति निकिता र दाजु हरिशरण लामिछाने ३ जनाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए । उनीहरुले मुलुकी फौजदारी सहिंता-२०७४ को दफा २७६ र २७७ मुलुकी अपराध सहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा टेकेर किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले अस्वीकार गरेको हो ।

प्रहरीले अस्वीकार गरेपछि निकिता, हरिशरण र वकिल राजेन्द्र सेढाई बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयतर्फ हिँडेका छन् । उनीहरुले त्यहाँ उजुरी दिने बताइएको छ ।


पुष्प दुलाल