रवि लामिछानेकी श्रीमतिले दानबहादुर मल्ल र किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी दिइन्



काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम सीधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी श्रीमति निकिता पौडेलले ३ जनाविरुद्ध किर्ते गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

चितवनको एक होटेलमा सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा खिचेको भिडियो चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका संकेत कोइरालाले किर्ते गरेर सार्वजनिक गरेको दाबी गर्दै पौडेलले उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बुधबार दिउसो साढे १ बजे उजुरी दिएकी हुन् ।

परिसरका प्रमुख कार्यालयमा नरहेकाले पौडेलले किटानी दरखास्त  दर्ता हुन भने केही समय लाग्ने भएको छ । उनी आफ्ना दाजु र वकिलसहित टेकुस्थित प्रहरी कार्यालय पुगेकी हुन् ।

मुलुकी फौजदारी सहिंता-२०७४ को दफा २७६ र २७७ मुलुकी अपराध सहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्था छ । सोही कानूनमा टेकेर पौडेलले उजुरी दिन लागिएको उनका वकिल राजेन्द्र सेढाइले जानकारी दिए ।


पुष्प दुलाल