विद्युत प्राधिकरणले ‘रन अफ दि रिभर’ प्रोजेक्टको विजुली किन्न छाड्यो
काठमाडौं । नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाले ऊर्जा सुरक्षा र राष्ट्रिय आवश्यकतालाई समेत परिपूर्ति गर्न नसक्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता आयोजनासँग विद्युत् खरीद सम्झौता गर्न छाडेको छ ।
ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेलाई अर्ध जलाशयुक्त आयोजनातर्फ आर्कषित होउन् तथा तथा नदी प्रवाही आयोजनाको रुपमा अनुमति लिएकालाई समेत अर्ध जलाशयुक्त बनाउन प्रेरित गर्ने लक्ष्यका साथ त्यस्तो रणनीतिक लिइएको हो ।
प्राधिकरणले हालसम्म ६ हजार ५०० मेगावाट क्षमताका नदी प्रवाही आयोजनासँग विद्युत् खरीद सम्झौता गरिसकेको छ । वर्षाको समयमा बढी विद्युत् उत्पादन भएपनि हिउँदको समयमा नदी प्रवाही आयोजनाको उत्पादन घटेर एक तिहाई भन्दा कममा झर्न थालेपछि प्राधिकरणले उक्त नीति अख्तियार गरेको हो ।
मुलुकको ऊर्जा सुरक्षाका लागि पनि जलाशयुक्त आयोजनाको आवश्यकता बढेर गएको छ । अर्ध जलाशयुक्त आयोजना समेत सहायक सिद्ध हुन सक्नेछन् ।
त्यसो त २०७२ फागुमा जारी गरिएको ऊर्जा संकटकालीना कार्यायोजना तथा २०७५ वैशाखमा जारी गरिएको श्वेतपत्रले समेत जलाशयुक्त र अर्धजलाशयुक्त आयोजना निर्माणमा जोड दिने लक्ष्य राखेको छ । सोही लक्ष्य पूरा गर्न पनि नदी प्रवाही भन्दा अन्य प्रकृतिका आयोजना नै उपयुक्त हुने ठहरमा प्राधिकरण पुगेको छ ।
आइतबार सम्पन्न प्राधिकरणको ३४औं वार्षिकोत्सव समारोहमा समेत सो विषयले प्रवेश पाएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नदी प्रवाही आयोजनाको समेत विद्युत् खरीद स्म्झौता हुने तर अर्धजलाशयुक्त र जलाशयुक्त आयोजनामा जाऔं भन्ने सरकारको जोड रहेको उल्लेख गरेका थिए । मन्त्री पुनले विद्युतीय सुरक्षाका लागि समेत नदी प्रवाही भन्दा अन्य प्रकृतिका आयोजना नै उपयुक्त हुने धारणा राखेका थिए ।
स्वतन्त्र ऊर्जा उद्यमीको संस्था इपानले भने नदी प्रवाही आयोजनाको विद्युत् खरीद सम्झौता नगरिएको आपत्ति प्रकट गर्दै आएका छन् ।
प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा समेत कूल ८५ वटा आयोजनासँग विद्युत् खराीद सम्झौता गरेको छ । ती आयोजनाको क्षमता १ हजार ४८० मेगावाट रहेको छ ।
यद्यपि हालसम्म एउटा पनि जलाशयुक्त आयोजनाको निर्माण शुरु हुन सकेको छैन । माथिल्लो तामाकोशी अर्धजलाशयुत्त प्रकृतिको आयोजना हो । सो आयोजनालाई साँझको समयमा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
यस्तै कालीगण्डकी, मध्यमस्र्याङदी जस्ता आयोजना पनि अर्ध जलाशयुक्त आयोजना हुन् । प्राधिकरणको कुलेखानीमात्रै जलाशयुक्त आयोजना हो । सो आयोजनाको क्षमता ९२ मेगावाट रहेको छ । कुलखोनी तेस्रोको निर्माण सम्पन्न भएपनि क्षमता बढेर १०६ मेगावाट पुग्नेछ ।